सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

भेरीमा बाल आईसीयू कक्ष निर्माण तीव्र

बाँके । बाँकेमा कोरोनाको सम्भावित तेस्रो लहरको जोखिम रोक्न विभिन्न काम अगाडि बढाइएको छ । त्यसक्रममा भेरी अस्पताल नेपालगन्जमा तेस्रो लहरका जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले तेस्रो लहरमा बालबालिका सबैभन्दा बढी जोखिममा पर्न सक्ने आशङ्का गरिएकाले अस्पतालमा २० शैयाको बाल केन्द्रित आईसीयू निर्माणले तीव्रता पाएको बताए । उनले सरकारले सम्भावित तेस्रो लहरको पूर्वतयारीका लागि दिएको निर्देशन अनुसार आईसीयू निर्माण लगायतका कामहरू भइरहेको जनाए ।

बाल आईसीयू निर्माण अन्तिम चरणमा पुगेको जनाउँदै डा. थापाले त्यसका लागि आवश्यक जनशक्ति र उपकरणका लागि पनि अस्पतालले केन्द्रमा पहल गरिरहेको बताए । ‘आवश्यक सावधानी नपअनाए सङ्क्रमणले कुन बेला कस्तो रूप लिन्छ भन्न सक्ने अवस्था छैन,’ भेरी अस्पतालका प्रमुख डा.थापाले भने ।

भेरी अस्पताल पहिलो र दोस्रो लहरमा देशकै सबैभन्दा धेरै कोरोना बिरामीहरूको उपचार गर्ने अस्पतालमध्ये पर्छ । ‘कोरोना सङ्क्रमण न्यूनीकरण भएको हो, नियन्त्रण होइन । यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र मापदण्ड पालनामा सबै पक्ष गम्भीर भए मात्रै विगतको जस्तो विडम्बना आउँदैन,’ सचेतनाका लागि आह्वान गर्दै डा.थापाले भने ।

कोरोना सङ्क्रमणको दोस्रो लहरमा अक्सिजनको कहालीलाग्दो अभाव झेलेका बिरामीहरूका लागि अक्सिजन पाइपसहितको शैया व्यवस्थापन र लिक्विड अक्सिजन ट्याङ्क स्थापना गरेको अस्पतालले अक्सिजन प्लान्ट स्थापना पहल पनि अगाडि बढाएको छ । ‘हाम्रो योजनाअनुसार काम अगाडि बढ्यो भने अक्सिजन प्लान्ट स्थापना हुन्छ,’ डा.थापाले भने, ‘अक्सिजन प्लान्ट भएपछि दीर्घकालीन रूपमै अक्सिजनको समस्या समाधान हुन्छ ।’

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार ०८:०७