सूचनाको शक्ति - The Power Of Information

        

साउन १५

आज खीर खाने दिन, यस्ता छन् खीरका फाइदा

नेपाली समाजमा विशेष महत्व

काठमाडौं । नेपालीहरूले साउन १५ गते अर्थात् आज (शुक्रबार) खीर खाएर मनाउँदै छन् । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ ।

साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताउनुभयो ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ । धान रोपाइँ गर्ने कार्य असारभित्र सम्पन्न गरी कार्यमा ह्रास शक्तिलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन आएको बताइएको छ ।

खीर स्वस्थकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व पनि प्राप्त हुने हुनाले खीर उपयोगी सिद्ध भएको बोर्डले जनाएको छ ।

स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।

खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो। यसको नेपाली समाजमा विशेष महत्व छ।

हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खीर खाने गरे पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ।

साउन महिना शिवपुजन महिना भएकाले एक महिना सम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने गर्छन्।

साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ।

दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ। चामलमा कार्वोहाइड्रेड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो।

चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ। गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं।

खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ। खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ।

खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्।

खीर बच्चा, वृद्ध सबैलाई युपयुक्त खानेकुरा हो। तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन। ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान युपयुक्त हुन्छ।

पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार ०८:०१