सूचनाको शक्ति - The Power Of Information

        

बैसाखी पाएपछि जीवनयापन सहज

सल्यान । यहाँका विभिन्न समस्याले गर्दा खुट्टा गुमाएका व्यक्तिहरूले बैसाखी पाएपछि आफ्नो दैनिक जीवनयापनमा सहज भएको बताएका छन् । छत्रेश्वरी गाउँपालिका–२, रानीपोखरीका ५१ वर्षीय मोतिराम सार्की २२ वर्ष पहिले रोजगारीको सिलसिलामा भारत गएका बेला मजदुरीको सिलसिलामा एउटा खुट्टा गुमाए ।

खुट्टा गुमाएर हिँड्डुल गर्न समस्या भएका उनले कृत्रिम खुट्टा पाए । उनले २२ वर्षपछि खुट्टा पाएकोमा खुसी व्यक्त गर्दै अब पहिलेकै जसरी हिँड्डुल गर्नसक्ने बताए । बागचौर नगरपालिका–७ का टीकाराम विक पनि रोजगारीको सिलसिलामा भारतमा गएका थिए । काम गर्ने क्रममा उनले आफ्नो एउटा खुट्टा गुमाए ।

खुट्टा गुमाएर समस्यामा परेका उनी तीन वर्षपछि कृत्रिम खुट्टा पाएपछि निकै खुसी भएका छन् । विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल काभ्रेपलान्चोक र सल्यान जिल्लाका विभिन्न स्थानीय तहको साझेदारीमा यहाँका अपाङ्गता भएका व्यक्तिहरूको उपचार तथा पुनस्र्थापनाको कार्य भएको छ ।

छत्रेश्वरी गाउँपालिका–१, दमाचौरका २९ वर्षीय प्रकाश विकले खुट्टा गुमाएको झण्डै आठ महिनापछि कृत्रिम खुट्टा पाएको बताए । उपचार तथा पुनस्र्थापना कार्यक्रमका सुपरभाइजर होमराज केसीले विशेषगरी १८ वर्षसम्मका शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुनस्र्थापनाको काम गर्दै आएको बताए । उनका अनुसार हाल सल्यान जिल्लाका करिब ३०० बालबालिकाको उपचार तथा पुनस्र्थापना भैसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार ०८:००