सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा सन् २०२२ सम्म पाटे बाघको संख्या दोब्बर पुर्‍याउने

चितवन । बुधबार विश्व बाघ दिवस । बाघको अस्तित्व, मानवको दायित्व भन्ने नाराका साथ दिवस मनाइएको छ ।

यसै अवसरमा चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामामा आयोजित कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख बाबुराम लामिछानेले नेपालमा बाघको संख्या सन्तोषजनक रहेको बताउनुभयो ।

सन् २०२२ सम्म नेपालले पाटे बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य लिएको छ । बाघको संख्या २ सय ५० पुग्यो भने यो लक्ष्य प्राप्त हुने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । पछिल्लो पटक सन् २०१८ मा भएको बाघको राष्ट्रिय गणनामा नेपालमा २ सय ३५ वटा बाघ भेटिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । नेपालमा सन् २००९ को गणनामा बाघको सङ्ख्या १ सय २१ , २०१३ को गणनामा १ सय ९८ रहेको थियो ।

संरक्षणमा नेपाल सरकारलाई नीतिगत मार्गदर्शन गर्न र राय सल्लाह दिन तथा विभिन्न सरोकारवाला निकायबीच समन्वयका लागि मन्त्रिपरिषद्को मिति २०६७ साल जेठ २ गतेको निर्णयानुसार प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति, नेपाल गठन गरेको थियो ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न २०६९ सालमा बाघ लगायत १४ वटा वन्यजन्तुले पुर्‍याएको क्षतिवापत राहत सहयोग गर्ने निर्देशिका समेत लागू गरिएको छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा विश्व बाघ सम्मेलन सुरु भएको दिनको सम्झनामा जुलाई २९ लाई विश्व बाघ दिवस मनाउदै आइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १९:४१