सूचनाको शक्ति - The Power Of Information

        

भाडाकै भवनबाट सेवा दिँदै पाँच स्थानीय तह

बझाङ । बझाङका पाँच वटा स्थानीय तह भाडाकै भवनबाट सेवा दिँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको चार बर्ष वितिसक्दा पनि अझै भवन बनाउन सकेका छैनन् । जिल्लाका १२ वटा स्थानीय तहमध्ये जयपृथ्वी नगरपालिका, तलकोट र छविसपाथिभेरा गाउँपालिकाले मात्र आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।

खप्तडछान्ना, थलारा र वित्थडचिर गाउँपालिकाको भवन निर्माणाधिन अवस्थामा छन् । सुर्मा, साइपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारी समेत गरेका छैनन् । दुर्गाथली, मष्टा र केदारस्युँ गाउँपालिका साविकका गाविस भवनबाट सेवा दिँदै आएका छन् ।

वित्थडचिर गाउँपालिका देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनबाट सेवा प्रवाह गर्दैछ भने थलारा, सुर्मा, साईपाल, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले भाडाका भवनबाट सेवा दिइरहेका छन् । भाडाका भवनमा सेवा दिँदै आएका स्थानीय तहले बार्षिक २ लाख २० हजारदेखि ९ लाखसम्म घर भाडा तिर्दै आएका छन् ।

साईपाल गाउँपालिकाले बार्षिक २ लाख ४० हजार, थलारा गाउँपालिकाले बार्षिक ४ लाख २० हजार, सुर्मा गाउँपालिकाले बार्षिक २ लाख २२ हजार, खप्तडछान्ना गाउँपालिकाले बार्षिक ३ लाख ६० हजार र बुंगल नगरपालिकाले बार्षिक ८ लाख ४० हजार रुपैयाँ घरभाडा तिर्दै आएका छन् । भवन बनाउन्भन्दा बढी रकम भाडामा सकिने गरेकाले स्थानीय तहले भाडा तिर्ने रकमले आफ्नै भवन निर्माण गर्नुपर्ने नागरिकहरु बताउँछन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १५:२५