सूचनाको शक्ति - The Power Of Information

        

समाचार

तालिबानी बिद्रोही समुहका शीर्ष नेता चीन पुगेपछि भारतमा हलचल

अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानका शीर्ष नेताहरू चीन पुगेका छन् । तालिबानको पुनःउदय भैरहँदा त्रस्त भारतमा भने यो घटनालाई लिएर हलचल मच्चिएको छ । बीबीसी हिन्दीका अनुसार तालिबान नेता मुल्लाह अब्दुल गनी र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच बुधबार उत्तरी चीनको तिआनजीनमा भेटघाट भेटवार्ता भएको हो ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशी फर्किएको दोस्रो दिनमै तालिबानी नेता चीन पुगेका हुन् । कुरैशीले पनि चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका थिए । अफगानिस्तानमा तालिबान विद्रोहीलाई पाकिस्तानले सघाइरहेको भारतले आरोप लगाउने गरेको छ । पाकिस्तानले आफ्ना विदेशमन्त्री र चिनियाँ समकक्षीबीच अफगानिस्तान मामिलामा कुराकानी भएको जनाएको छ ।

चीनको सरकारी मिडियाहरूका अनुसार चिनियाँ विदेशमन्त्रीले तालिबानी नेताहरूलाई चीन विरोधी आतंकवादी संगठन इस्ट तुर्किस्तान इस्लामिक मूभमेन्टबाट अलग हुन भनेका छन् । तालिबानी प्रतिनिधिमण्डलका नेताहलाई पूर्वी तुर्किस्तान इस्लामिक मूभमेन्ट एक आतंकवादी समूह भएको र संयुक्त राष्ट्रसंघले समेत यसलाई सोही करार गरेको चिनियाँ अधिकारीहरूले बताएका थिए ।

तालिबानले सो संगठनसँग सम्बन्ध अन्त्य गर्ने चीनको माग रहेको खबरहरूमा उल्लेख छ । भारतीय मिडिया द हिन्दूका पत्रकार र चीनबारे पुस्तक लेखेका अनन्त कृष्णनले चिनियाँ विदेशमन्त्री वाङ्ग र तालिबानी नेताहरूबीच भएको भेटघाटलाई लिएर ट्वीटरमा लेखेका छन्, ‘चीनका विदेशमन्त्रीले तालिबान र आतंकवादी संगठनबीच स्पष्ट फरक देखिनुपर्ने बताएका छन् । तालिबानले पनि आफ्नो भूमिबाट चीनमा कुनै नोक्सानी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।’

https://twitter.com/ananthkrishnan/status/1420306405693693953

द विल्सन सेन्टरका अनुसन्धाता माइकल कुगेलम्यानले पनि यस भेटवार्ताबारे भारतलाई जोडेर ट्वीट गरेका छन् । ट्वीटमा उनले लेखेका छन्, ‘तालिबानी प्रतिनिधिमण्डल चीनसम्म पुग्नु भारतका लागि चुनौती हो । भारतले अफगानिस्तानमा कूटनीतिक पहल बढाउन आवश्यक छ । भारतको एक प्रतिद्वन्द्वी पाकिस्तान पहिलेदेखि नै यस खेलमा सामेल छ र अब चीन पनि संलग्न हुन जाँदैछ ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अफगानिस्तानमा तालिबानले युद्ध अन्त्य गर्ने अपेक्षा राखेको र पुनःनिर्माणमा सघाउन अहम भूमिका निभाउन सक्ने बताएका छन् ।

तालिबानी नीति : हिंसा र वार्ता सँगसँगै

अफगान सरकार र तालिबानबीच हिंस्रक संघर्ष चरम सीमामा पुगिरहँदा चिनियाँ र तालिबानी पक्षबीच भेटघाट भएको हो । यतिखेर तालिबानी लडाकु पाकिस्तानसँग जोडिने सीमा स्पीन बोल्डाकदेखि ईरानसँगको सीमासम्म पुगिसकेका छन् । सीमा चौकीहरू नै तालिबानले आफ्नो कब्जामा लिएको छ । यतिखेर जहाँजहाँ तालिबान छन्, त्यहीँ अफगान सेना, प्रहरी र विशेष कमाण्डोबीच मोर्चाबन्दी लडाइँ भइरहेको छ ।

केही दिनअघि पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद यूसुफले अफगानिस्तानमा अहिले निकै खराब रहेको र पाकिस्तानको नियन्त्रणबाट बाहिर गएको बताएका थिए । अफगानिस्तानमा हिंसा मच्चाइरहेको तालिबानका प्रतिमण्डल यसबीच रुस, ईरान र चीनसम्म पुगिसकेका छन् । एसियाका महाशक्तिहरूसँग नरम सम्बन्ध राख्न सक्दा आफूहरूलाई अन्तरराष्ट्रिय मान्यता मिल्ने तालिबानको अपेक्षा छ ।

अफगान सरकारसँग तालिबानले कतारमा वार्ता गरिरहेको छ । तालिबानका प्रवक्ता मोहम्मद नइमले ट्वीटमार्फत दिएको जानकारीअनुसार चिनियाँ पक्षसँग राजनीति र अर्थव्यवस्था लगायत दुवै देशको सुरक्षासँग जोडिएका मामिला, अफगानिस्तानको वर्तमान अवस्था एवम् शान्ति प्रकृयाबारे चर्चा भएको छ ।

https://twitter.com/CGTNOfficial/status/1420285617397669888

चीनको शर्त

चीनले तालिबानसँग पूर्वी तुर्किस्तान इस्लामिक मूभमेन्टसँग सम्बन्ध तोड्नेलगायत विभिन्न शर्त राखेको छ । यो संगठनले आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डतामा खतरा पैदा गर्ने चीनले बताउने गरेको छ । तालिबानका नेता मुल्लाह अब्दुल गनीले आफ्नो संगठनले कहिल्यै पनि चिनियाँ हितमा नोक्सान पुग्न नदिन अफगान भूमि प्रयोग गर्न नदिने वाचा गरेका छन् ।

पूर्वी तुर्किस्तान इस्लामिक मूभमेन्टले वीगर मुसलमानको बाहुल्यता रहेको चीनको शिनजियाङ प्रान्तमा नयाँ विद्रोह निम्त्याउन खोजिरहेको छ । शिनजियाङ प्रान्त पाकिस्तान प्रशासित कश्मीर ताजिकिस्तानसँग समेत जोडिएको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १५:०७