सूचनाको शक्ति - The Power Of Information

        

भदौ ५ सम्म भुक्तानी नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौं । आफूले बेचेको उखुको भुक्तानी नपाएको भन्दै काठमाडौं आएका उखु किसानले सरकारलाई ५ भदौसम्म भुक्तानी दिलाउन आग्रह गर्ने भएका छन्।

उनीहरूले भदौ ५ सम्म पनि भुक्तानी नपाए आन्दोलनको चेतावनी दिएका छन्। उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले आफूहरूले पाउन बाँकी उखुको भुक्तानी रकम ५ भदौसम्म दिलाइदिन सरकारसँग माग राख्ने बताए।

भुक्तानी दिलाउन यसअघिसमेत काठमाडौं आएका उखु किसान भुक्तानी नपाएको भन्दै फेरि काठमाडौं आएका हुन्।  सर्लाही र नवलपरासीबाट काठमाडौं आएका किसानले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्।

पत्रकार सम्मेलनमार्फत उखु किसानले आफूहरूले पाउनुपर्ने भुक्तानीको विवरण सार्वजनिक गर्ने र सरकारसँग भुक्तानी दिलाइनदिन आग्रह गर्ने तयारी गरेका हुन्।

यसअघि विगतदेखिको भुक्तानी पाउन बाँकी रहेको भन्दै गत वर्षसमेत उखु किसानले काठमाडौं आएर आन्दोलन गरेका थिए। उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायका अनुसार उद्योगीबाट पाउनुपर्ने भुक्तानी करिब ३५ करोड रुपैयाँ रहेको छ।

सरकारी अनुदानसमेत गरेर झण्डै ५० करोड रुपैयाँ आफूहरूले पाउन बाँकी रहेको किसानहरूको दाबी छ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०९:४२