सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपालले बोलाए आफ्नो पक्षको बैठक

काठमाडौँ । नेकपा एमालेको विद्रोही समूहका नेता माधव कुमार नेपालले आफू पक्षको बैठक बोलाएका छन् ।

सत्ता गठबन्धनमा सामेल रहेको उक्त समूहले सरकारमा जाने या नजाने भन्ने बारे निष्कर्ष निकाल्नको निम्ती बैठक बोलाएको एक नेताले जानकारी दिए ।

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफूपक्षका २२ जना सांसदसँग छलफल गर्न लागेका हुन्।

पार्टी एकताका लागि दबाबमा रहेका नेपालले सांसदहरुसँग आगामी बाटोबारे छलफल गर्न लागेका बताइएको छ।

सांसद मेटमणि चौधरीले भने, ‘सरकारमा सहभागिताका विषयमा सांसदहरूसँग छलफलका लागि माधव नेपालले बोलाउनु भएको हो । स्थायी समितिले गरेको निर्णयको बारेमा पनि कुराकानी हुन्छ’ ।

माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठकमा माधव नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी गराइसकेका छन् ।

गठबन्धनको आजको बैठकले दुई दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा नेपाल आफू उपस्थित नभए पनि डा. विजय पौडेललाई आफ्नो प्रतिनिधिको रूपमा पठाएका थिए ।

तर विहानको बैठकमा भने उनले सरकारमा सहभागि नहुने बताएका थिए । यद्यपि आजको बैठकले अन्तिम निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १३:२१