सूचनाको शक्ति - The Power Of Information

        

दुर्घटनाको मनलाग्दी क्षतिपूर्ति असुलाइएको भन्दै गाडी नचलाउने निर्णय

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाभित्र यातायात   व्यावसायीले   गाडी   सञ्चालन नगर्ने अडान लिएका छन् ।

कर्णाली करिडोर हँदै रास्कोट नगरमा सञ्चालित मानसरोवर  यातायात,  बुलबुले  यातायात  र  रारा  कर्णाली यातायात समितिले रास्कोट नगरपालिकाभित्र कुनै  पनि  सार्वजनिक  यातायातका  गाडी  सञ्चालन  नगर्ने औपचारिक निर्णयसमेत गरेका छन् ।

यातायात व्यावसायीले गाडी दुर्घटना हुँदा नगर सरकारकै  अगुवाइमा  मनलाग्दी  क्षतिपूर्ति  असुल  गराउने गरिएको बताउँदै त्यस क्षेत्रमा गाडी नचलाउने निर्णय गरेका हुन् ।

रारा कर्णाली   मानसरोवर   समितिका   लालीघाट   इन्चार्ज   वैकुण्ठ   गिरीले   रास्कोट   नगरपालिकाका  उपप्रमुखकै  सक्रियतामा  आफ्नो  समितिलाई  ११  लाख  रुपियाँ  क्षतिपूर्ति  तिराउने  निर्णय  भएकाले  रास्कोट  क्षेत्रमा  गाडी  नचलाउने  निर्णय भएको बताए ।

उनले गत  असार  २२  गते  क१ज २३  नम्बरको गाडी रास्कोट– ६, रोटेमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र आफन्तले  ११  लाख  क्षतिपूर्ति  पाउने भन्दै निर्णय भएको बताए ।

बीमाको  रकम  र  काजकिरिया  खर्च  पाउने  कानुनी  व्यवस्था  हुँदा  पनि  उपप्रमुख  र  प्रशासनको  रोहवरमा  मनलाग्दो  क्षतिपूर्ति  लिने  निर्णय  भएको उनले गुनासो गरे ।

यस  विषयमा  रास्कोट  नगरपालिका  उपप्रमुख  मिमसरा बम शाहीले प्रशासनसहितको रोहवरमा दुवै पक्ष सहमत भएर गरेको निर्णयको आफू साक्षी मात्र बसेकाले बढी क्षतिपूर्ति दिलाउने भूमिकामा आफ्नो संलग्नता नभएको दाबी गरिन् ।

उनले जिल्ला  प्रहरी  कार्यालय  कालीकोटका  प्रहरी निरीक्षक भुपेन्द्र शाहीसमेत छलफलमा रहेकाले उपप्रमुखले घेराबन्दी गरेर ११ लाख रुपियाँ तिराउने निर्णय भयो भन्नु गलत भएको टिप्पणी गरिन् ।

यता,  जिल्ला  प्रहरी  कार्यालय  कालीकोटका  सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुपेन्द्र शाहीले आफूहरूले छलफलको वातावरण मात्र मिलाएको र दुवै पक्षबीच झडप हुन नदिन सुरक्षा मात्र दिएको बताए ।

बीमाबाहेकको  बाँकी  क्षतिपूर्तिका  विषयमा  आफ्नो  कुनै  संलग्नता  नभएको  उनको दाबी छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०८:४६