सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रशासन विभाग फुत्किने भएपछि बालकोटमा एआईजीको रुवाबासी

काठमाडौं । एमालेका नेता महेश बस्नेतको जोडबलमा प्रधानमन्त्री पद फुत्किनुभन्दा केही दिन अगाडि केपी शर्मा ओलीद्वारा नेपाल प्रहरीमा डीआईजीबाट एआईजीमा बढुवा गरेका सहकुल बहादुर थापा मानव स्रोत एवम् प्रशासन विभागको कमाण्ड सम्हाल्न उत्पात चलखेल गरिरहेको खुलासा भएको छ । प्रशासन विभाग फुत्किने सम्भावना बढेपछि एमाले समर्थक एआईजी थापाले प्रहरीभित्र ‘ग्याङ’ खडा गरेको आरोप छ ।

थापाले प्रशासन विभाग नपाउने हुन् कि भनेर ओली सबैभन्दा धेरै चिन्तित बनेको चर्चा बालकोटतिर हुन थालेको छ । एआईजी थापालाई ओली–बस्नेतको ठूलो आशीर्वाद छ । प्रशासन विभागको कमाण्ड सम्हाल्न नपाएपछि एमाले समर्थक अनलाइनहरूले थापालाई प्रशासन विभाग दिनु भनेर रोइकराइ गरेर समाचार लेखिरहेका छन् । एआईजी थापा एमाले अध्यक्ष ओली र नेता बस्नेतका डाइहार्ड फ्यान भएको प्रहरी मुख्यालयमा चर्चा हुन थालेको छ ।

शुक्रबार पनि ओलीका तत्कालीन प्रेस सल्लाहकार सूर्य थापा निकट मानिने केही अनलाइनहरूमा एआईजी थापालाई प्रशासन विभागको जिम्मेवारी दिनुपर्ने भनेर प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणलाई दवाव दिने प्रयास गरिएको छ । एआईजी थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेप गरेको भनेर समाचारमा लेखाएको आरोप छ ।

सरकार बनेको दुई हप्ता भएको छैन । एमालेका नेता बस्नेतको जोडबलमा एआईजीमा बढुवा पाएका थापाले गृहमन्त्री खाणले पदभार ग्रहण गरेकै दिन गृहमन्त्रीविरुद्ध समाचार लेखाएर फण्डा गरेको चर्चा प्रहरी हेडक्वाटरभित्र चलेको थियो । बालुवाटार छाड्ने बेला ओलीले ५ जना एआईजीको सरुवा गरेका थिए । ओलीले एआईजी हरि पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेलको सरुवा र सहकुलबहादुर थापालाई पदस्थापना गरेका थिए ।

प्रशासन विभागको नेतृत्व पाउन थापाले शक्तिकेन्द्र धाउन थालेको स्रोतको भनाइ छ । प्रहरीको प्रशासन विभागमा एआईजी थापालाई राखेर एमाले अध्यक्ष ओली र नेता बस्नेतले प्रहरीभित्र आफ्नै होल्ड राखिरहन खोजेको चर्चा छ । प्रहरीभित्र प्रशासन विभाग सबैभन्दा आकर्षक मानिन्छ । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले ओली सरकारले गरेका ११ वटा राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरिसकेको छ ।

देउवा सरकारले ओलीका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरे पनि कर्मचारी प्रशासनमा भने त्यो लागू गरेको छैन । प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणले प्रहरीभित्रको चेनअफ कमाण्डलाई नचलाउने जनाइसकेका छन् । उनीहरूले अन्यायमा परेका प्रहरी कर्मचारीलाई न्याय दिने तथा ओली सरकारका गलत कदमलाई कहिल्यै पनि साथ नदिने संकेत गरिसकेका छन् । त्यसको असर सिधै बस्नेतको जोडबलमा एआईजी बनेका थापालाई पर्ने देखिएको छ । (रिपब्लिका दैनिक)

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०६:४४