सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

जानकीमा समृद्धिको ‘सूर्योदय’, आत्मनिर्भरतातर्फ नागरिक

गाउँपालिकाभित्रका कच्ची सडकहरु फेरिएका छन् । कतै कालोपत्रे त कतै पीसीसी गरिएका छन् । सडक पक्की भएपछि गाउँपालिकाबासी खुसी भएका छन् ।

बाँके । भौगोलिकरूपमा समथल भूभागका गाउँ र नेपालगन्ज शहर नजिकै रहेको बाँकेको जानकी गाउँपालिकाका जिल्लाकै सक्षम गाउँपालिका हो । यहाँ जिल्लाका अरू गाउँपालिका र नगरपालिकाभन्दा धेरै आन्तरिक आम्दानीका स्रोतहरू छन् । पूर्वाधारसँगै जनशक्तिको अभाव देखिएको छ । यहाँका धेरै गाउँमा सडक पुगेको छ, नपुगेको गाउँमा सर्वे भइरहेको छ । यद्दपी गाउँपालिका समृद्धिको बाटोमा अघि लम्किरहेको छ ।

स्थानीय तह सञ्चालनको अनुभव लिने र सिकाउने काम गरेर वर्ष दिन बितेको छ । यो अवधीमा हेर्दा उक्त गाउँपालिकाले आन्तरिक स्रोतबाट राम्रै आम्दानी गरिरहेको छ । नयाँ संरचना, स्थानीय तहले आफैं ऐन नियम बनाउने र आवश्यकतामा प्राथमिकीकरण गर्ने अभ्यासमै रहेको बेला हरेक काम नयाँ तरिकाले गर्नुपर्ने अवस्था छ । मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय तहले लागू गरेका कर प्रणालीको सर्वत्र आलोचना भएको छ ।

जनताको करबाट पालिएका जनप्रतिनिधिले आफ्नो सेवासुविधा बढाउनुका साथै महँगा गाडी खरिद गरेको भन्ने आमगुनासो छ । तर, कतिपय स्थानीय तहले एक वर्ष अवधिमा सुधारात्मक काम गरेर जनताको मन जितेका छन् । केही गाउँपालिकाले नमुनायोग्य काम गरेको भन्दै स्थानीय जनताले प्रशंसासमेत गरेका छन् । जनप्रतिनिधिले यही गतिमा काम गरे समृद्घ गाउँपालिकाको समृद्धिको सपना पुरा हुन समय नलाग्ने गाउँपालिकाबासी बताउँछन् ।

गाउँपालिकाले शिक्षा, सामाजिक सुरक्षा, खानेपानी, सडक, विद्युत्, कृषि लगायत क्षेत्रमा गरेको सुधारात्मक कदमबाट नागरिकहरु आशावादी छन् । आर्थिक सक्षमताले मात्र होइन, अन्य स्थानीय तहभन्दा केही फरक काम र काम गर्ने फरक शैलीले जानकी गाउँपालिकामा समृद्धिको सूर्याेदय सफलताको बाटोतिर लम्किँदै गएको छ । निर्वाचन जितेपछि मतदाताप्रति जबाफदेही हुने यहाँका जनप्रतिनिधिको काइदा मतदाताले पनि रूचाएका छन् ।

सरकारी काम चुस्तदुरूस्त बनाउन गाउँपालिकाले चालेका कदमहरु प्रशंसायोग्य रहेको गाउँपालिकाबासीहरु बताउँछन् । ‘प्रविधिको युग’ उपभोग गर्न गाउँपालिकाले सेवा प्रवाहलाई डिजिटल प्रविधितर्फ अघि बढाएको छ । पत्राचार, तथ्यांक संकलन, कर्मचारी–शिक्षकको हाजिरी लगायत काममा डिजिटल प्रविधि सुरू गरिएको छ । ‘गाउँपालिकाको कार्यालयमा मात्र होइन, वडा तहको काम पनि पेपरलेस बनाउँदैछौं,’ अध्यक्ष रामनिवास यादव भन्छन् ।

त्यस्तै गाउँपालिकाले फोहोरमैला व्यवस्थापन, सरसफाइ र गाउँबस्तीहरुलाई सुन्दरता बनाउने अभियानले जानकीको मुहार फेरिँदै गएको छ । ‘हामी कृषि र सरसफाइका क्षेत्रमा नमुना गाउँपालिका बनाउँछौं र औद्योगिक पर्यटकीय गन्तव्यको क्षेत्र बनाउँछौं,’ अध्यक्ष यादवले भने । गाउँपालिकाभित्रका कच्ची सडकहरु फेरिएका छन् । कतै कालोपत्रे त कतै पीसीसी गरिएका छन् । सडक पक्की भएपछि गाउँपालिकाबासी खुसी भएका छन् ।

विगतमा हिँड्नलायक नभएका सडकमा अहिले निर्धक्कसँग सवारी साधन कुद्न थालेका छन् । मुल्य सडकहरुमा सोलार बत्ती तथा हाइमास्ट जडान गरेर उज्यालो गाउँपालिका बनाइँदैछ । कृषि र पशुपालनका क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने सोचअनुसार दक्ष प्राविधिक उत्पादन गर्ने र उनीहरूलाई कृषि, पशुपालनतर्फ अग्रसर गराउने गाउँपालिकाको योजना छ । बेरोजगार सबै युवाशक्तिलाई रोजगारी दिलाउने योजनाका साथ गाउँपालिका अघि बढेको छ ।

अध्यक्ष रामनिवास यादव र उपाध्यक्ष भूमिसरा धितालको नेतृत्वमा जानकीले विकासको रथ डोर्याइरहेको छ । एउटै आस्था र विचार भएकै कारण ‘टिम स्प्रिट’ले जानकी समृद्धिको मार्गमा हिँडिरहेको छ । उपाध्यक्ष धितालले पालिकाको समृद्धिका लागि सडक, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए । उनले भने, ‘बाँकेको सिमान्त क्षेत्रका रुपमा रहेको जानकी गाउँपालिकाले संघीयतासँगै विकासमा छलाङ्ग मार्न थालेको छ ।’

स्थानीय सरकार आएपछि आर्थिक, भौतिक पूर्वाधार, कृषि, शैक्षिक लगायतका क्षेत्रमा निकै विकास भएको छ । स्थानीय तहको निर्वाचनपछि जानकीले समृद्धितर्फ अघि बढ्ने अवसर पाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास हरेक बस्तीसम्म पुगेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको दावी छ । ‘हामी विकासमा राजनीति गर्दैनौँ भनेर अघि बढेका छौं,’ अध्यक्ष यादवले भने, ‘हामीबीच भएको एकता र सद्भावकै कारण हामी एकपछि अर्को काममा सफल बन्दै गएका छौं ।’

उनले जनशक्ति अभावकाबीच समृद्धिका निम्ति सबैसित हातेमालो गरेर अघि बढेको बताए । जानकीमा विकासका योजनालाई सफल ढंगले अघि बढाएको बताउँदै उनले यहाँका बस्तीहरुमा सरसफाइदेखि ढल निकासको कामसम्म द्रुत गतिमा भइरहेको जानकारी दिए । ‘चारैतिर सडक सञ्जाल बिस्तार भइरहेको छ । गाउँपालिकाको वडा नं. ५ र ६ ठूलाठूला उद्योगी व्यवसायीको पनि रोजाइमा पर्न थालेसँगै औद्योगिक हवका रुपमा स्थापित भइसकेको छ । यस क्षेत्रमा अरबौँ लागतमा उद्योगहरु धमाधम स्थापना भइरहेका छन्,’ उपाध्यक्ष धिताल भन्छिन् ।

यो क्षेत्रमा सडक, विद्युत र पर्याप्त जग्गाको कारण औद्योगीकरण बढेको छ । भौगोलिक निकटताले पनि यहाँ उद्योगिक आकर्षण बढ्दो छ । पालिकामा सुरु भएका योजनाहरुलाई निरन्तरता दिँदा देखिनेगरी हुने परिवर्तनबाट जनताहरू सन्तुष्ट हुने गाउँपालिका अध्यक्ष रामनिवास यादव बताउ“छन् । परम्परागत कार्यसम्पादन प्रणालीमा सुधार जरुरी छ ।

खाँचो र स्थानीय तहको सामथ्र्य अनुसारको योजना छनोट गर्ने, निर्धारत समयमा सम्पन्न गराउने र ती योजना गुणस्तरीय लाभकारी भए÷नभएको नियमन गर्नुपर्ने देखिएकोले आगामी दिनमा गाउँपालिकाको समृद्धिसँगै आन्तरिक स्रोतबाट आयआर्जनका लागि गाउँपालिका लागिपर्ने उनी बताउँछन् । शिक्षा र समुदायको विकास, खानेपानी, स्वास्थ्य, शिक्षा र पर्यटनको विकासबाट समृद्ध गाउँपालिकाले विकासको क्रम अघि बढाएसँगै जानकीको आन्तरिक स्रोत पहिचान र व्यवस्थापनका लागि विभिन्न सूचक योजनामा समेटिएका छन् ।

अधिकांश योजनामा अघिल्ला वर्ष सामान्य पूर्वाधारका काम सुरु भएका छन् । चार वर्षभित्र सबै स्थानलाई उत्कृष्ट गन्तव्य बनाउने योजना छ । झट्ट हेर्दा सबै काम अधुराजस्तै देखिन्छन् । किनकि पहिलो प्रयास र थालनीमा मात्र भएकाले पूर्ण भएको काम देख्न सकिँदैन । तर, सडकको ट्रयाक खोल्ने काममा भने देखिने गरी भइसकेका छन् । पालिकाको विकासको योजनामा पुराना सडकको स्तरोन्नति र ट्रयाक मात्रै खुलेका ठाउँ बाह्रैमास यातायात सहज बनाउने भन्ने छ ।

शिक्षा र स्वास्थ्यका लागि पनि योजना छन् । केन्द्रीय अनुदानकै भरमा मात्रै चल्न हुँदैन भन्नेमा यहाँका प्रतिनिधिहरू सचेत छन् । विस्तारै आन्तरिक स्रोत वृद्धि हुँदै जाँदा गाउँपालिका आत्मनिर्भरताको बाटोमा लाग्छ । गाउँपालिकाभित्रकै संयन्त्रहरू मजबुत भइ नसकेकाले अहिले राजस्व संकलनदेखि सेवा प्रवाह चुस्त बन्न सकेको छैन । सुधार गर्दै जाँदा राजस्वको क्षेत्र पनि बढदै जाने गाउँपालिका अध्यक्ष यादव बताउँछन् । आफ्नै स्रोतले निर्भर बन्दैनौं तबसम्म केन्द्रसँगको निर्भरता घटदैन ।

यसैले यस गाउँपालिकामा आन्तरिक स्रोतका साधनको अभाव छैन । खोला नाला र नदी प्रसस्तै नभएपनि औद्योगिक क्षेत्रका रूपमा जानकी रहेकोले आम्दानीको स्रोत औद्योगिक क्षेत्रलाई बनाउँन सकिन्छ । यहाँको औद्योगिक क्षेत्र र कृषिलाई मात्रै मापदण्डअनुसार चलाउन सकियो भने जानकीको आन्तरिक आम्दानी ह्वात्तै बढ्ने छ । पर्यटन व्यवसायले गति लिँदै जाँदा गाउँपालिका आन्तरिक स्रोतमा पनि सबल भएको हुनेछ । विदेशी उत्पादनको प्रयोगमा कमी ल्याउँदै स्वदेशी वस्तु प्रयोगमा वृद्धि ल्याउँदै जानुपर्ने भएको छ ।

अर्काको वस्तु तथा उत्पादनमा गर्व गर्ने अनुहारहरूमा आफ्नो पौरख र गौरवको गाथा जोड्नु जरुरी भएको छ । सक्छौँ जोडौँ, नसके नतोडौँ भन्ने मन्त्रलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । महिलाहरूले गाउँघरमै खुलेका साना बचत तथा सहकारीमा दैनिक २०० रुपैयाँका दरले बचत गर्न थालेका छन् । सिलाइकटाइ व्यवसाय गर्दै केही महिलाले व्यवसायबाट घरखर्च चलाउनुका साथै छोराछोरीलाई स्कुल पढाउने गरेका छन् ।

मुक्तकमैया र कमलहरीले सिकेको सीप व्यवहारमा उतारेर आर्थिक अवस्था सुधार्दै गइरहेका छन् । गाउँका अन्य थारू र पहाडी महिला पनि अहिले यिनीको देखासिकी गरेर तरकारी खेती, ब्युटीपार्लर र पशुपालन लगायतका व्यवसायमा व्यस्त हुन थालेका छन् । ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी तथा पशुपक्षीजन्य वस्तुले राम्रो बजार पाउन थालेपछि धेरैजसो महिला तरकारी खेती र पशुपालनमा संलग्न हुन थालेको छ ।

कृषि, वाणिज्य, रोजगारी, उद्योग तथा अन्य क्षेत्रहरूमा परनिर्भरतालाई प्राथमिकता नदिऔँ । स्वदेशी कार्य र गतिविधिलाई आत्मसात् गरौँ, जसले गर्दा आन्तरिक स्रोतको खपत तथा आयमा वृद्धि भई आफैँ आत्मनिर्भर बन्न सकिने देखिन्छ । बचत, ऋण, बजेट, आम्दानी, खर्च एवं विप्रेषणका विषयमा जानकारी भएपछि अधिकांश महिला गोलभेंडा, सिमी, बोडी, काँक्रा, फर्सी, खुर्सानीलगायत कृषिजन्य खेतीबाट गाउँमै स्वरोजगार बनेका छन् ।

वित्तीय साक्षरता कक्षापछि उनीहरुले विदेशबाट भित्रिएको रेमिट्यान्स र अन्य स्रोतबाट आएको रकमको दैनिक हिसाब–किताब पासबुकमै लेखेर राख्न थालेको उनी बताउँछिन् । बाँकेका आठ स्थानीय तहमध्ये जानकी गाउँपालिकामा सडक सञ्जालले पनि उत्तिकै विकासको गति लिइरहेको छ । पालिकाले प्राकृतिक स्रोत र साधनको प्रयोग गर्ने अधिकार पाए नगरपालिकाभन्दा पनि बढी राजस्व संकलन गर्न सक्ने उपाध्यक्ष धिताल बताउँछिन् ।

‘पछिल्लो समय जानकीमा धेरै विकास भएको छ, पहिलेजस्तो अभावहरु छैनन्,’ उनले भनिन्, ‘जानकीले अभावको परिभाषा बदलिसकेको छ । स्थानीय सरकार समृद्धिको सपना बोकेर हिँडेपछि जानकीको समृद्धि टाढा छैन । आगामी दिनमा थप लगानी जुटाउन सके जानकी छोटो समयमै समृद्ध बन्छ ।’ प्राकृतिक स्रोत र साधनको उपभोग स्थानीय सरकारले प्रयोग गर्न पाउनुपर्ने देखिन्छ । यहाँबाट उठ्ने कर यहीं खर्च गरेर गाउँपालिकालाई विकासको समृद्धितर्फ लैजाने प्रयास चलिरहेको उनले बताइन् ।

प्राकृतिक स्रोत र साधनको सदुपयोग गरी विकासको गति बढाउनुपर्छ । जानकी गाउँपालिका प्राकृतिक स्रोतमा कमजोर भए पनि औद्योगिकरूपमा सबल बन्दै गएको छ । जानकीमा सामुदायिक तथा सरकारी वन र नदीनाला छैनन् । प्राकृतिक स्रोतका दृष्टिले यो अलि पछाडी देखिन्छ । तर, पनि यो अन्य गाउँपालिकाभन्दा छिटो समृद्धिको पथमा लम्किँदैछ । सहकारीमा आबद्ध भएर बचत गर्न थालेपछि आर्थिक यहाँका महिलाले अवस्थामा सुधारसँगै परिवार र समाजमा सम्मानित व्यवहार पाएका उपाध्यक्ष धितालले बताइन् ।

बाख्रापालन गरेर सहकारीमा आयस्रोत जुटाएका यहाँका महिला अहिले आन्तरिकरूपमै आर्थिक सक्षम भएका छन् । आम्दानी बृद्धि नै घरेलु हिंसा न्यूनीकरणमा टेवा पुगेको छ । जहाँ महिला सहकारी छन, त्यहाँ आन्तरिक सुशासन पाइने उनी बताउँछिन् । हिंसाको एउटा मूल कारण आर्थिक कमजोरी रहेछ । सहकारीमा महिला आकर्षण बढेसँगै हिंसा हट्दै गएको महसुस गर्न सकिन्छ भने यसले पनि गाउँपालिकाको आन्तरिक स्रोतमा बृद्धि गरेको छ यहाँका नागरिकसँगै गाउँपालिका पनि हरेक दृष्टिले आत्मनिर्भर बन्दै गएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १६:२७