सूचनाको शक्ति - The Power Of Information

        

समाचार

हराएका तीन बालबालिकाको भारतबाट उद्धार

बाँके । जिल्लाका कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका–४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो । कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारूका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी छन् ।

रुपन्देहीस्थित ‘मानव कल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज (सोमबार) परिवारको जिम्मा लगाइँदै छ । भारतको बरेलीस्थित नारी निकेतन अनाथ आश्रममा रहेका उनीहरूलाई आवश्यक कागजातको प्रमाण जुटाएर फिर्ता ल्याइएको हो । उनीहरूसँगै बैतडीका १ र दाङका १ गरी थप दुई बालक पनि सोही बालगृहमा राखिएको वडाध्यक्ष थारूले जानकारी दिए ।

६ महिनाअघि कोहलपुरबाट हराएका बालबालिका नेपालगन्जस्थित जमुनाह नाका हुँदै रुपैडिहामा पुगेका जनाइएको छ । त्यहाँबाट भारतीय ट्रकमा बसेर बरेली पुगेका हुन् । बरेली पुग्नुभन्दा दुई–तीन किलोमिटर वरै ट्रकले बालबालिकालाई झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरूलाई भारतीय प्रहरीले उद्धार गरेर स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको थियो ।

नेपालगन्जस्थित जमुनाह नाका हुँदै भारत गएर बालबालिका अलपत्र पर्ने गरेका छन् । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले साथीका लहलहैमा घर छोडेर हिँडेका बालबालिका जोखिमपूर्ण यात्रा गरी भारतका विभिन्न शहरमा अलपत्र पर्ने गरेका बताए । उनका अनुसार यसअघि पनि भारतको बहराइच, लखनउ, दिल्लीलगायत स्थानमा अलपत्र परेका बालबालिकाको उद्धार गरी पारिवारिक पुनःमिलन गराउने काम भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १५:२१