सूचनाको शक्ति - The Power Of Information

        

जसपाका बहुमत सदस्यको हस्ताक्षर उपेन्द्र यादवको पक्षमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । ठाकुर पक्षका सदस्यले समेत यादव समूहमा हस्ताक्षर गरेका छन् । यसअघि ठाकुर समूहका रहेका राजकिशोर यादव, मनिष सुमन र गोविन्द चौधरीले उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा हस्ताक्षर गरेका हुन् ।

जसपाको ५१ सदस्यीय कार्यकारिणीमध्ये हालसम्म उपेन्द्र–बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरिसकेका छन् । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो ।

दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ । यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १४:१५