सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा झन्डै तीन हजार कोरोना संक्रमित, ५३ को मृत्यु

सल्यान । चीनबाट सुरु भएको कोरोना भाइरस महामारीका कारण सल्यानमा २०७८ असारसम्म दुई हजार ८९० जना संक्रमित भएका छन् भने ५३ जनाको मृत्यु भएको छ । जिल्लामा २०७६ साल चैत १७ गते एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्यामा उतारचढाव हुँदै आइरहेको छ ।

असार मसान्तसम्म ११ हजार ५८२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४३२ र ४ हजार ३३३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणको कोरोनाभन्दा दोस्रो लहरका रुपमा फैलिएको कोरोनाबाट धेरै मानिस संक्रमित भएका छन् ।

पहिलो चरणमा ७५४ जना मात्र संक्रमित भएकोमा दोस्रो लहरमा भने २ हजार २१२ जनामो कोरोना पोजेटिभ देखिएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताए । पहिलो चरणको कोरोनाबाट जिल्लामा १ जनाको मात्र मृत्यु भएकोमा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ ।

असार मसान्तसम्म २ हजार ७३८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । मसान्तसम्म जिल्लामा सक्रिय संक्रमितको सख्या १०० रहेको छ । जसमा सल्यान अस्पतालमा ४, संस्थागत आइसोलेसनमा ८ र होम आइसोलेसनमा ८८ जना रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी डिसीले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १६:१२