सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको तल्लो तहका सबै अधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ । शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।

साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन क्रियाशील सदस्यता विवादले स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने उनले बताए ।

स्थानीय तलको अधिवेशनको तालिका फेरिने भए पनि यसबाट केन्द्रीय अधिवेशनको कार्यतालिका भने प्रभावित नहुने शर्माले बताए । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने उनले जानकारी दिए ।

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने पनि शर्माले बताए । पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन् ।

पुरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानुनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको बुझिएको छ । कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि काठमाडौंमा हुने गरी तोकिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १५:३१