सूचनाको शक्ति - The Power Of Information

        

आज राति यस्तो छ वर्षाको सम्भावना

काठमाडौं । आज (शुक्रबार) राति पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अघि साँझ ६ बजे जनाएअनुसार अहिले पनि बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

आज राति देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।’ महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म)का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

महाशाखाद्वारा जारी चेतावनी तथा परामर्शसहितको बुलेटिनमा भनिएको छ, ‘प्रदेश नं १ र बागमती प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १९:४१