सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी प्रदेशमा नयाँ मन्त्रीले लिए शपथ

कास्की । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारले ४२ औँ दिनमा पूर्णता पाएको छ । गठबन्धनका प्रमुख दुई घटक कांग्रेस र माओवादीबीच शक्ति बाँडफाँडमा बिहीबार साँझ सहमति भएपछि शुक्रबार ६ जना नयाँ मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण गर्नेहरूमा कांग्रेसका मेखलाल श्रेष्ठ, विन्दुकुमार थापा र मणिभद्र शर्मा कँडेल रहेका छन् । यस्तै माओवादीबाट संसदीय दलका उपनेता रामजी बराल, चन्द्रबहादुर बुढामगर र दीपक घर्तिमगरले शपथ लिएका छन् भने कांग्रेसबाट श्रेष्ठले सामाजिक विकास मन्त्री, थापाले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री र कँडेलले पर्यटन मन्त्रीको रूपमा शपथ खाएका हुन् ।

यस्तै माओवादीबाट बरालले आर्थिक मामिला तथा योजना मन्त्रालय, बुढामगरले कृषि तथा सहकारी मन्त्रालय र चर्तीमगरले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् । कांग्रेसका मुख्यमन्त्री पोखरेलसहित कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले भने जेठ २९ मा नयाँ सरकार बनेकै दिन शपथ लिएका थिए ।

त्यो बेलामा मन्त्रालयको बाँडफाँड नमिलेकाले शपथ मात्रै लिएका उनीहरूलाई केही समयपछि मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको थियो । कांग्रेसका खड्काले सामाजिक विकास मन्त्रालय, माओवादीकी गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जसपाका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले युवा तथा खेलकुद मन्त्रालय पाएका थिए । गुरुङ, आचार्य र मनाङेको मन्त्रालय यथावत रहेको भए पनि कांग्रेसका खड्काको जिम्मेवारी भने फेरिएको छ ।

उनलाई सामाजिक विकास मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा सारिएको छ । उनले सम्हालेको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कांग्रेसकै श्रेष्ठले पाएका हुन् । नयाँ मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराएकी थिइन् । नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । गत जेठ २९ मा पोखरेल नेतृत्वको सरकार बने पनि मन्त्रालय बाँडफाँडको टुङ्गो नलाग्दा मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १४:५७