सूचनाको शक्ति - The Power Of Information

        

प्रेस पास, सञ्चारमाध्यम दर्ता एवं नवीकरण अब अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागले साउन १० (आइतबार)देखि अनलाइनबाटै प्रेस पास, अनलाइन सञ्चारमाध्यम दर्ता एवं नवीकरणको सुविधा सुरू गर्ने भएको छ ।

विभागबाट जारी हुने नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणसम्बन्धी सम्पूर्ण कार्य, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनमार्फत हुने भएको हो । एक सूचना जारी गर्दै विभागले आइतबारदेखि सम्पूर्ण सेवाग्राहीहरुले आवश्यक कागजात सूचना तथा प्रसारण विभागको वेबसाइटमा आवेदन दिनसक्ने जनाएको छ ।

साथै सोही दिनदेखि विभागमा सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रवाह दिनको १ बजेसम्म मात्र रहने छ । अनलाइनमार्फत रितपूर्वक आवश्यक सम्पूर्ण कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका काठमाडौं उपत्यकाका सेवाग्राहीहरुले भोलिपल्टै विभागबाट उपलब्ध गराइने र उपत्यका बाहिरका सेवाग्राहीको हकमा सेवाग्राहीको अनुकूलता/मागअनुसार विभाग वा सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने गरिने व्यवस्था गरिने छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १४:२३