सूचनाको शक्ति - The Power Of Information

        

नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

काठमाडौं । तत्कालीन सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू सरकार परिवर्तनसँगै राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । पछिल्लो १० दिनभित्र नेकपाको प्रतिनिधिमण्डलले प्रमुख दलका मूख्य नेतासँग भेटघाट गरेका छन् ।

भेटघाट तत्कालीन ओली सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयनका लागि वातावरण निर्माणमा केन्द्रित भए पनि राजनीतिक समदूरी कायम गर्ने विषयमा पनि महत्वपूर्ण मानिएको छ । नेकपा महासचिव नेतविक्रम चन्द विप्लव नेतृत्वको टोलीले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापालाई बुढानीलकण्ठस्थित उनकै निवासमा भेटवार्ता गरेका छन् ।

गत फागुन २० गते भएको सहमति कार्यान्वयनका लागि सरकार समर्थित दलहरुसँगको छलफल बाक्लो बनाएको नेकपाले फरक एजेण्डा बोकेको राप्रपासँग पनि राजनीतिक विषयमा छलफल गरेको हो । राप्रपा अध्यक्ष थापाले पूर्व सरकारले गरेका तीन बुँदे सहमति कार्यान्वयनका लागि वर्तमान सरकारले समेत अग्रसरता लिनुपर्ने बताए ।

भेटमा राप्रपाबाट अध्यक्ष थापासहित नेताहरु दीपक बोहोरा र बुद्धिमान तामाङ तथा नेकपाका महासचिव चन्दसहित नेताहरु धमेन्द्र बाँस्तोला, खड्गबहादुर विश्वकर्मासहितको टोली सहभागी थियो । नेकपा नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य लगायतसँग यसअघि नै भेटघाट गरिसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १२:५३