चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमल डाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्धा भरत गुरुङको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले नेपाली सेनामा कार्यरत गंगाधर ढकाललाई पक्राउ गरेको छ ।
नेपाली सेनामा कार्यरत एक जनालाई पक्राउ गरिएको चितवनका एसपी ओम अधिकारीले बताए । चितवन प्रहरीले आरोपीको नाम सार्वजनिक गरिसकेको छैन् । ‘केहीबेरमा आरोपीलाई सार्वजनिक गर्छौ’ एसपी अधिकारीले भने । चितवनको टाँडीबाट पक्राउ परेका ढकालको साथबाट प्रहरीले भरत गुरुङलाई गोली हान्न प्रयोग भएको एक थान पेस्तोल र एउटा एसएमजी बरामद गरेको छ ।
धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो । शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ । ३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्धा हुन् । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ ।
।