सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

उच्च जोखिम क्षेत्रमै कोभिड खोप लगाउनेको सहभागिता न्यून

फाइल तस्वीर

बाँके । बाँकेमा कोभिड सङ्क्रमणको उच्च जोखिममा देखिएका स्थानीय तहमै कोभिडविरुद्धको खोप कार्यक्रममा लक्ष्यअनुसारको सहभागिता न्यून हुन थालेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका सम्पर्क व्यक्ति तेज वलीका अनुसार जिल्लाको नरैनापुर गाउँपालिकामा कोभिडविरुद्धको खोप कार्यक्रममा लक्षित समुदायको सहभागिता अत्यन्त न्यून छ ।

अन्य स्थानीय तहमा लक्ष्यको शतप्रतिशत नै सफलता प्राप्त हुँदा केही दिनअघि सञ्चालित खोप कार्यक्रममा नरैनापुरमा ३४ प्रतिशतले मात्रै खोप लगाए । नरैनापुर, बैजनाथ, डुडुवा र राप्तीसोनारीमा साउन ३, ४ र ५ गते ५५ वर्ष उमेर पूरा भएका, शिक्षक तथा यातायातकर्मी र यसअघि खोप लगाउने वर्गमा परेर छुटेकालाई कोभिडविरुद्धको खोप लगाइएको छ ।

वैजनाथमा १०० प्रतिशत र राप्तीसोनारीमा ९१ प्रतिशतले खोप लगाएका छन् । सबैभन्दा कम खोप नरैनापुर गाउँपालिकामा लगाइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका सम्पर्क व्यक्ति वलीले भने, ‘यसअघिका अभियानमा पनि नरैनापुरमा खोप लगाउनेको सङ्ख्या न्यून नै थियो । यसपटक चारवटै स्थानीय तहमा ११ हजार १५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा नौ हजार १२८ जनाले मात्रै खोप लगाएका छन् ।’

बाँकेका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा भने साउन १०, ११ र १२ गते खोप कार्यक्रम सञ्चालन हुनेछ । मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएको नरैनापुरमा झैं डुडुवा गाउँपालिकामा पनि ७७ प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन् । नरैनापुर गाउँपालिकामा गतवर्ष पहिलो चरणमा कोभिड समुदायस्तरमा फैलिएको थियो । भारतीय सीमासँग जोडिएको नरैनापुर कोभिडको उच्च जोखिममा रहँदै आएको छ ।

१८ वर्षमाथिका सबैलाई खोपको माग

१८ वर्षमाथि उमेर समूहका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था तत्काल गर्न बाँकेवासीले माग गरेका छन् । नेपालगन्जका अगुवा एवं अधिकारकर्मी रवीन्द्र कर्णले नेपाल–भारत सिमानामा रहेको बाँके जिल्ला हरेक वर्ष अत्यधिक जोखिममा रहँदै आएकाले जिल्लाका १८ वर्षमाथि उमेर समूहका सबै नागरिकलाई खोपको तत्काल व्यवस्था गर्न माग गरे । उनले सरकारले जोखिम धेरै रहेका सीमावर्ती जिल्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

अधिकारकर्मी कर्णले अत्यधिक कोरोना कहरको समयमा पनि सीमा नाका खुला रहने गरेकाले यहाँका बासिन्दा सबैभन्दा बढी जोखिममा रहेको हुँदा १८ वर्षमाथिका सबैलाई खोपको तत्काल व्यवस्था गर्नुपर्ने बताए । उनले बाँके जिल्ला पहिलो र दोस्रो दुवै लहरमा कोरोना ‘हटस्पट’ बनेको हुँदा तेस्रो लहरबाट जोगाउन सबैलाई खोपको व्यवस्था गर्नुपर्ने माग गरे । उनले खोपको व्यवस्था गर्न अलिकति पनि ढिलाइ गर्न नहुने जनाउँदै सबै काम पछाडि पारेर पनि तत्काल सबै जिल्लावासीलाई खोप उपलब्ध गराउनुपर्ने बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १०:१६