सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोना फैलन नदिन जमुनाहमा उच्च सावधानी

बाँके । भारतमा कोरोना संक्रमणको तेस्रो लहर फैलन सुरु गरेका समाचारहरू आउन थालेकोले सीमा नाका जमुनाहमा स्वास्थ्य जाँचमा कडाइ गरी उच्च सावधानी अपनाइएको छ । भारतमा कोरोनाको डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि भारत गएका नेपाली फेरि स्वदेश फर्किन थालेका छन् ।

कोरोनाको तेस्रो लहर भारतबाट फर्किएकाहरूबाटै भित्रिन सक्ने आशङ्कामा सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्न थालिएको छ । तेस्रो लहरको जोखिम घटाउन नाकामा भारतबाट फर्किनेहरूको अनिवार्य ज्वरो नाप्ने, शङ्कास्पद देखिएमा एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्नेलगायतका प्रवन्धमा कडाइ गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

डेल्टा भेरियन्ट भाइरसको सङ्क्रमण फैलिएका भारतका विभिन्न सहरबाट फर्किएका शङ्कास्पद व्यक्तिहरूको सीमा नाकामै एन्टिजेन परीक्षणलाई अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले बताए । उनले नाकामा राम्रो निगरानी र परीक्षण गर्न सकिए सङ्क्रमण भित्रिनबाट रोक्न सकिने पनि बताए ।

जनस्वास्थ्य प्रशासक शाहले भारतबाट फर्किनेलाई अहिले सर्वाधिक जोखिमको सूचीमा राखेर एसडीएफ, सेभ द चिल्डे«न लगायतका विभिन्न सङ्घ संस्थाहरूले सङ्क्रमणबाट बच्ने उपायका बारेमा जानकारी दिने, मास्क, सेनिटाइजर र थर्मामिटरसहितका आवश्यक स्वास्थ्य सामग्रीहरू वितरण गर्दै आएको बताए ।

कोरोना सङ्क्रमणको जोखिम कम गर्न सन्देशमूलक होर्डिङ बोर्ड राख्ने, माइकिङ गर्ने, मास्क खोइ भन्ने अभियानमार्फत सर्वसाधारणलाई मास्क वितरण गर्ने गरिएको एसडीएफ बाँकेका कार्यक्रम संयोजक राम श्रेष्ठले बताए । सीमा नाका जमुनाहमा अहिले दैनिक १०० देखि १५० जनासम्मको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्ने गरिएको नाकास्थित हेल्थ डेक्सका प्राविधिक चिरञ्जीवी ज्ञवालीले बताए ।

एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका तर स्वास्थ्य अवस्था सामान्य भएका व्यक्तिहरूलाई नेपालगन्ज उपमहानगरपालिकाको आइसोलेसनमा र चिन्ह लक्षण भएका व्यक्तिलाई भेरी अस्पतालमा भर्ना गरेर उपचार गर्ने व्यवस्था मिलाइएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए ।

जमुनाहमा स्थायी हेल्थ डेस्क

नेपालगन्जको जमुनाह नाकामा मङ्गलबारदेखि स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालनमा आएको छ । कोरोना, डेङ्गु, मलेरियालगायतका सङ्क्रामक रोग नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको हो । यसअघि सङ्क्रामक रोग फैलिएको अवस्थामा सीमा नाकामा अस्थायी संरचना बनाएर हेल्थ डेस्क सञ्चालन गरिएकोमा अबदेखि स्थायी प्रकृतिको संरचना निर्माण गरिएको छ ।

हेल्थ डेस्कको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशमशेर राणाले सङ्क्रामक रोगको रोकथाम र नियन्त्रणका लागि स्थायी हेल्थ डेस्क सहयोगी हुने बताए । ‘सीमा नाकामा स्थायी स्वास्थ्य संरचना भएपछि स्वास्थ्यकर्मी र नाकामा आवागमन गर्ने सबैलाई सहज हुन्छ,’ नगर प्रमुख राणाले भने, ‘स्थानीय तहबाट आवश्यक सहयोगलाई निरन्तरता दिइने छ ।’

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगन्जमा पहिलो पटक हो । नेपालगञ्ज नाकामा कोभिड सङ्क्रमणपछि स्थापना गरिएको हेल्थ डेस्कमा हाल १६ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

‘नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहितका स्वास्थ्यकर्मीहरू खटिने छन्,’ स्वास्थ्य शाखा प्रमुख चन्दले भने, ‘भारतबाट फर्किनेहरूको स्वास्थ्य परीक्षण (स्क्यानिङ) र आवश्यकता अनुसार परीक्षण गरिनेछ ।’ नेपालगन्ज नाकामा कोभिड सङ्क्रमणपछि एक लाख ५१ हजारको स्क्यानिङ गरिएकोमा १० हजार शङ्कास्पद देखिएकोमा २७५ जनामा कोभिड पुष्टि भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ०९:५५