सूचनाको शक्ति - The Power Of Information

        

राजीनामा फिर्ता लिने मुडमा भीम रावल !

काठमाडौं । नेकपा एमालेका भीम रावल हेर्दा निक्कै हक्की देखिन्छन्, कडा स्वभावका पनि । तर यसरी कडा स्वभावका मान्छे क्षणभरमै क्षणिक लाभमा कसरी सस्तिदा रहेछन् भन्ने उदाहरण पनि उनी बनेका छन् । एमालेभित्रको विवादमा चर्का आलोचक थिए रावल अध्यक्ष केपी ओलीको । तर उनी ओलीसँगको एउटै भेटमा कसरी गले ?

अहिले सबैको जिज्ञासा एउटै छ । तर उनको राजनीति हेर्ने हो भने एमालेभित्रकै धेरैले उनलाई ‘अवसरवादी’ नेताका रुपमा पनि आरोपित गर्ने गरेका छन् । चर्का क्रान्तिकारी देखिन खोज्ने मान्छे क्षणभरमा स्खलित हुन्छन् र आवेगमा निर्णय लिन्छन् भन्ने उदाहरण पनि रावल देखिएका छन् । ओलीसँगको गत असार २० को बालुवाटार भेटपछि रावलमा एकाएक परिवर्तन देखा परेको हो ।

उनी ओलीसँग झुक्नै नहुने तर्क माधव नेपाल समुहमा बसेर गर्दथे । तर ओलीसँगको भेटपछि उनलाई ओलीले दिएको ‘उत्तराधिकारी’ (भलै उनले बाहिर स्वीकार नगरे पनि)को प्रस्तावले एकाएक गल्न पुगेको विश्लेषण माधव नेपाल समुहभित्रै हुन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउन सर्वोच्च अदालतमा समेत पुगेर हस्ताक्षर गरेका रावल देउवाले विश्वासको मत लिने बेला भने विश्वासको मत दिन नहुने पक्षमा उभिए ।

उनले सिधैं देउवालाई मत दिन नहुने धारणा राखे ।त्यसपछि माधव नेपाल र रावलको बीचमा केही बेर भनाभन भयो । रावल त्यसपछि बम्किएर राजीनामा दिने भन्दै निस्किए । दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उनले सभामुखको टेबुलमा राजीनामा बुझाएर हिडे । बाहिर आएपछि सुरेन्द्र पाण्डेले रोक्न खोज्दाखोज्दै पनि उनले राजीनामा पत्र सञ्चारकर्मीहरुलाई वाचन गरेर हिँडे । त्यसयता उनको माधव नेपालसँग कुराकानी भएको छैन ।

नेपालले उनीप्रति कुनै टिप्पणी गरेका पनि छैनन् । तर उनको राजीनामामा केपी ओलीले नै चिन्ता देखाएका छन् । उनले राजीनामा दिनु हुदैनथ्यो, पूर्नविचार गर्नुपर्छ, ओलीले पार्टी केन्द्रीय समितिको बैठकमा पनि बोलेका थिए । रावलले साँच्चै राजीनामा दिन चाहेका भए उनले बुझाएको राजीनामा संसदमा सभामुखलाई फेरि दोहोराएर भेट्न जानुपर्ने थियो । उनले आफ्नो हस्ताक्षर सनाखत गर्न जानुपर्दथ्यो । तर उनी संसदमा सभामुखलाई भेट्न गएका छैनन् ।

उनलाई हतारिएर नहिड्न ओलीले विभिन्न सूत्रमार्फत सन्देश पठाएका छन् । जारी केन्द्रीय समिति बैठकबाट उनलाई राजीनामा फिर्ता लिन निर्देशन गर्ने निर्णय आउने बताइएको छ । यहीबेला उनलाई राजीनामा नदिन र त्यसमा पूर्नविचार गर्न भन्दै सूदुरपश्चिमका १३ प्रदेशसभा सदस्य काठमाडौं आएका छन् । रावललाई हिजै भेटेर उनीहरुले राजीनामा फिर्ता लिन दबाब बढाएका छन् ।

सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो । ‘उहाँलाई हामीले राजीनामा फिर्ता लिन आग्रह गर्यौं,’ टोलीमा सहभागी एक सुदुरपश्चिम प्रदेशका सभासदले भने, ‘उहाँले त्यसको जवाफ दिनुभएन । तर मनिस्थित हेर्दा फिर्ता लिनुहुन्छ जस्तो लाग्छ ।’ रावलले भने एमाले एकताका लागि दबाब बढाउन राजीनामा दिएको मात्र बताएको पनि उनले बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी लगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतसहित १३ जना काठमाडौं पुगेर रावललाई भेट्दै रावललाई राजीनामा फिर्तामात्र कुरा गरेका छैनन्, नेपाल समुह नछोड्न पनि दबाब दिए । तर रावल बोलेका छैनन् । रावलसँगको भेटपछि एक नेताले रावलले केही दिन चुप हेरेर राजीनामा फिर्ता लिने मानसिकता बनाएको हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १०:४२