सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

असार मसान्त सकिएसँगै बढ्यो कोरोना, सुदूरपश्चिममा सबैभन्दा धेरै

फाइल तस्वीर

काठमाडौं । असार मसान्त सकिएसँगै नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो साता ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संकमित रहेकामा यो साता बढेर १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित पुगेका छन् ।

हाल देशभर २६ अजार ८३२ सक्रिय संक्रमित रहेका छन् । यो संख्या पनि विगत केही दिनदेखि बढेको छ । साउन लागेपछि केही मात्रामा पीसीआर बढाइएका कारण संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार डेढ महिनायताकै सर्वाधिक संक्रमित फेला परेका थिए ।

यो क्रमलाई पछ्याउँदै बुधबार पनि २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार प्रदेश १ मा मोरङ, झापा र सुनसरी, बाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर र चितवन तथा गण्डकी प्रदेशमा कास्की र नवलपरासी पूर्वमा ५०० बढी संक्रमित रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा रुपन्देही, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लामा ५०० बढी संक्रमित रहेका छन् । हाल नेपालमा कोरोना संक्रमणदर १९.२ प्रतिशत रहेको छ । जसमध्ये सबैभन्दा बढी संक्रमण दर सुदूरपश्चिम प्रदेशमा ४८.२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशमा ४६ प्रतिशत, गण्डकी प्रदेशमा ३२ प्रतिशत र प्रदेश १ मा ३१.५ प्रतिशत संक्रमण दर रहेको छ । यो विगतको तुलनामा निकै बढी हो । कोरोना संक्रमणको जोखिम कम भएको भन्दै असार पहिलो हप्तादेखि नै निषेधाज्ञा खुकुलो पारिँदै लगिएको थियो । स्वास्थ्य मापदण्ड पालना नगर्ने र भिडभाड बढेकाले संक्रमणदर पुन बढ्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा टेकु अस्पतालका निर्देशक एवं संक्रमण रोग बिशेषज्ञ डा.अनुप बास्तोलाले भने, ‘लकडाउन खुकुलो गर्नु नै कोरोनाको जोखिम मोल्नु त हो, त्यसलाई ख्याल गरेर अघि बढ्नुपर्छ । अर्को कुरा आम जनमानसले पनि जनस्वास्थ्यका मापदण्ड लगायतका नियम ख्याल गर्नुपर्छ । सकेसम्म भिडभाडमा नजाने गर्नुपर्छ ।’

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४७५ जना निको भएर घर फर्केका छन् । ८ हजार ७१५ पीसीआर परीक्षण गर्दा १ हजार ९१८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै ३ हजार ९०१ परीक्षण गर्दा ९२० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ । गत २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १८:४३