काठमाडौं । संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको ६ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका–५ निवासी यवेश अधिकारीले पटक पटक प्रयास गर्दा पनि अहिलेसम्म आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाएका छैनन् ।
महिला, कानून र विकास मञ्चले आज जुम प्रविधिबाट आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् । आमाको नामबाट नागरिकता नपाउने यवेश एक्ला भने छैनन् । सर्लाहीकी अञ्जली साहलाई ६ महिना नपुग्दै बाबुले छाडेकाले अहिले आमाको नामबाट नागरिकता लिन पटकपटक प्रयास गर्दा पनि सफल नभएको उनले बताए ।
नागरिकता नभएकै कारण साहले विदेश गएर पढ्ने अवसरसमेत गुमाए । नागरिकताकै कारण रुचि नभएको विषय पढ्नुपरेको र काम गर्नसमेत नपाएको उनको गुनासो थियो । आमाको वंशजको नागरिकता भए पनि बागलुङ निवासी अञ्जलीलाई भने नागरिकताकै लागि भौँतारिरहनुपरेको छ ।
भरतपुर महानगरपालिका–१ निवासी विकास नेपालीले पनि आमाका नामबाट नागरिकता लिन सकेनन् । अहिले आमा बितेपछि दलालले आमाको नामको जग्गासमेत हडपेका छन् । उनले भने, ‘विद्यालय र क्याम्पसमा अध्ययनका क्रममा प्रथम भएको थिएँ, दोस्रो हुने साथीले बैंकमा प्रबन्धकको जागीर खाइसके, नागरिकता नहुँदा म अलपत्र छु, आमाले जोडेको सम्पतिमा अरुले अधिकार जमाउन खोज्छन् ।’
काठमाडौँ निवासी सरिता (नाम परिवर्तन) आमाको दोस्रो विहे भएपछि नागरिकताकै कारण आपूmले पहिचानसमेत गुमाउनुपरेको गुनासो गरिन् । विद्यालयमा बुबाको नाम भनी काकाको नाम लेखिएको थियो । शैक्षिक प्रमाणपत्रमा काकाको नाम नै बाबुको महलमा लेखिएको छ । पहिचान नै सङ्कटमा परेकाले उनको उच्च शिक्षासमेत पूरा हुनसकेको छैन ।
मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधानसभाबाट पारित संविधान कार्यान्वयनमा आए पनि नागरिकताको विषय भने अपूरो भएको बताए । संविधानको धारा १२ र ३८ मा उल्लेखित नागरिकता सम्बन्धी नयाँ व्यवस्थाबमोजिम नागरिकता ऐनमा संशोधन नहुँदा यो विषयलाई कार्यान्वयनमा ल्याउन कठिन भएको उनको भनाइ छ ।
धनुषास्थित गणेशमान सारनाथ नगरपालिका–३ का इन्द्रजीत साफीले साहुसँग रु.पाँच लाख ऋण लिएर इञ्जिनियरिङ विषय अध्ययन गरे । अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही दिनमै उनको नागरिकताका प्रतिलिपि मागियो । प्रतिलिपि उपलब्ध गराउन नसकेपछि आफूले रोजगारीबाट हात धुनुपर्यो ।
अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएकाले अहिले आफू र आफ्नो परिवार नै चिन्तामा डुबेको छ । ‘साहुको ऋण बढेर रु १५ लाख भएको छ, रातदिन पैसा माग्न आउँछन्, नागरिकता नभएकै कारण मैले पाएको निजीस्तरको जागीरसमेत गुमाउनुपर्यो, अब मैले कसरी ऋण तिर्ने ? साहूको सधैको किचकिचले आत्महत्या गरौँ कि जस्तो लाग्न थालेको छ,’ उनले भने ।
आफ्ना चार भाइले १२ कक्षासम्मको अध्ययन गरेका छन् भने बहिनीले पनि स्नातक अध्ययन गरेकी छिन् । तर नागरिकता नभएकैले कसैले पनि सामान्य रोजगारीसमेत पाउन नसकेका कारण मानसिक तनावमा रहेको साफीको भनाइ थियो । धनुषाकै चन्दन मुखर्जीले पनि नागरिकता नभएकै कारण यस्तै समस्या भोग्नुपरेको छ ।
महोत्तरीका अर्जुन साहले पनि नागरिकता नभएकैले पढ्न पनि छोडेको गुनासो गरे । नागरिकतामा पटकपटक राजनीति हुँदै आएकोले पीडित झन झन दुःखी छन् । वि.सं २०७४ जेठ ३ गते सर्वोच्च अदालतले नागरिकता दिलाउन आदेश जारी गरेपछि योगेश अधिकारीले आमाको नाममा नागरिकता लिएको मञ्चका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।
तर यो आदेश अन्यका हकमा कार्यान्वयन हुन नसकेकाले नागरिकता पीडित चालू अधिवेशनमै नागरिकता विधेयक पारित गराउनका लागि दबाब दिन लागिपरेका छन् । साउनको तेस्रो साता संसद भवन अगाडि धर्ना दिने तयारी भएको पीडित साफीले बताए । विधेयक पारित नभएसम्म धर्ना जारी राख्ने नागरिकता पीडितहरूको तयारी छ ।
पचासभन्दा बढी नागरिक संस्थाका तर्फबाट नागरिकतासम्बन्धी समस्या छिटो समाधान गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाइएको थियो । मञ्चमा ५०० भन्दा बढी नागरिकताविहीनको अभिलेख छ । राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा प्रस्तुत गरेको विधेयक यसपटक पारित गराएरमात्र घर फर्कने भन्दै एक हजार नागरिकता पीडित राजधानीमा जम्मा हुने तयारीमा छन् । (पूर्णप्रसाद मिश्र)
।