सूचनाको शक्ति - The Power Of Information

        

विभाजनको संघारमा एमाले

नेपाल पक्षको निष्कर्ष, ‘एकतामा जोड’, ओलीको पत्रले एकतामा भाँजो

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकता प्रक्रियालाई जोड दिने निष्कर्ष निकालेको छ । बुधबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले एकता प्रक्रियालाई जोड दिने सहमति भएको नेता रघुजी पन्तले जानकारी दिए ।

‘एकता प्रक्रियालाई राम्ररी अघि बढाउनुपर्छ र एकतालाई जोड दिनुपर्छ भन्ने विषयमा हामी सबैको सहमति भयो,’ बैठकको निर्णय सुनाउँदै पन्तले भने । एकता प्रक्रिया चलिरहेका बेला वरिष्ठ नेता नेपालविरुद्ध भइरहेको नारा जुलुश र पुत्ला जलाउने कार्य तत्काल रोक्न बैठकले माग गरेको नेता पन्तले बताए ।

उनले भने, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुश र पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ ।’

बैठकद्वारा पारित प्रस्ताव सुनाउँदै पन्तले भने, ‘यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गर्दछ ।’ प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई स्पष्टीकरण सोध्नुले एकतामा भाँजो हाल्ने काम गरेको नेता पन्तले बताए ।

यसैबीच, बानेश्वरस्थित अर्याल होटलमा माधव पक्षको स्थायी कमिटी बैठक चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा मतदान गर्ने २२ जना सांसदका नाममा एमाले अधयक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको स्पष्टीकरण पत्रले एमाले एकता थप अन्योलतर्फ अघि बढेको पनि नेता पन्तले बताए ।

२४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय सोमबार नै भए पनि पत्र बुधबारमात्र उनीहरुलाई दिइएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई ५ गतेको मिति राखेर स्पष्टीकरण पत्र बुझाइएको छ । स्पष्टीकरण पत्रमा देउवाको पक्षमा मतदान गरेको विषय उल्लेख नगरी विपक्षी गठबन्धनमा लागेको आरोप लगाइएको छ ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बनेका प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही नहुने व्याख्या गरेकाले ओलीले उनीहरुमाथि सो विषयको आरोप नलागई विपक्षी गठबन्धनमा लागेकोमात्र आरोप लगाएका हुन् । स्थायी कमिटी बैठक चलिरहेका बेला सो पत्र पुगेपछि सो बैठकले त्यसको भर्त्सना गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग नेता पन्तले भने, ‘अध्यक्ष ओली कमरेडबाटै पार्टी एकता हुन नदिने गरी गतिविधिहरु भइरहेका छन् । स्पष्टीकरण पत्र पनि एमाले एकता वितपरित आएको छ । यो एकता भाँड्नका लागि गरिएको चलखेल हो ।’ पन्तले सर्वोच्चको फैसला विपरित निहुँ खोज्ने काम भएको भन्दै त्यसको भर्त्सना गरिएको जानकारी दिए । बैठकमा पार्टी उपाध्यक्ष भीम रावल भने नेपाल पक्षको बैठकमा अनुपस्थित थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १७:३६