सूचनाको शक्ति - The Power Of Information

        

झलनाथ खनालको उपचार खर्च राज्यले बेहोर्नु गैरकानुनी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्न नहुने बताएका छन् । बुधवार सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन् ।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले यसअघि ओली सरकारले गरेको निर्णयको समेत विरोध गरेका थिए । प्रधानमन्त्री देउवाले मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने क्रममा खनाललाई फोनमार्फत उपचार खर्च सरकारले बेहोर्ने वचन दिएका थिए । थापाले उक्त खबर गलत रहेको विश्वास आफूले गरेको जनाएका छन् ।

‘व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ,’ थापाले भनेका छन् । मिर्गोलामा समस्या देखिएपछि खनाल भारतको एपोलो अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १४:१७