सूचनाको शक्ति - The Power Of Information

        

बकर इदमा बैजनाथ गाउँपालिका अध्यक्ष रुचालले दिए शुभकामना

बाँके । ईस्लाम समुदायको महान् पर्व इद उल अजहा (बकर इद)को अवसरमा बैजनाथ गाउँपालिकाले ईस्लाम धर्मावलम्बीहरुमा शुभकामना सन्देश व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले ईस्लाम धर्मावलम्बीहरुको बलिदानको पर्व बकर ईदका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका हुन् ।

अध्यक्ष रुचालले ईस्लाम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद स्वास्थ्य मापदण्डको पालना गर्दै हर्षोल्लासपूर्वक मनाउन पनि अनुरोध पनि गरेका छन् । अध्यक्ष रुचालले सामाजिक रुपान्तण आत्मियता समुदायबीचको मेलमिलापले मात्र सामाजिक सद्भाव र एकता कायम हुने उल्लेख गरेका छन् ।

बकर इदका अवसरमा ईस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने जनाएका छन् ।

सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधतासँगै यस पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गर्दै अध्यक्ष रुचालले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी तथ सद्भावको शुभकामना दिएका छन् ।

इस्लामिक पात्रोअनुसार १२ औं महिना अर्थात दिल हिज्जाको १० औं दिन यो पर्छ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा बकर इद मनाइन्छ । मस्जिद वा इदगाहमा सामूहिक नमाज पढिसकेपछि ईस्लाम धर्मावलम्बीहरु एकापसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्दछन् । बकर इदको पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने चलन रहेको छ ।

बकर इदकै अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदासमेत दिएको छ । साउन ४ को मन्त्रिपरिषद्को निर्णयानुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इदको अवसरमा आज मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १३:२५