सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोभिडबाट साढे नौं हजारको मृत्यु, कहाँ र कति ? (तथ्यांकसहित)

फाइल तस्वीर

काठमाडौं । नेपालमा पछिल्लो एक महिनायता कोभिड–१९ संक्रमणको अवस्था स्थिर छ । दैनिक थपिने संक्रमितको संख्या २ देखि ३ हजारको बिचमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । तर, दैनिक मृत्यु पुष्टि हुनेको संख्या भने संक्रमणदर अनुसार घटेको छैन ।

पहिलो र दोस्रो लहरमा काठमाडौं उपत्यकासँगै भारतसँग सीमा जोडिकएका जिल्लाहरूमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ । नेपालमा साउन ४ गतेसम्म कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेमा प्रदेश १ मा १ हजार ३११, प्रदेश २ मा ७३८, वाग्मतीमा ४ हजार ८६, गण्डकीमा १ हजार ९, लुम्बिनीमा १ हजार ५७८, कर्णालीमा ४१७ र सुदूरपश्चिम प्रदेशमा ४४३ जना छन् ।

पछिल्लो एक सातामा नेपालमा कोभिड–१९ का कारण मृत्युको संख्या १८२ रहेको छ । जसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ६६ जना रहेका छन् । त्यसैगरी प्रदेश १ र गण्डकी प्रदेशमा पनि मृत्यु हुनेको संख्या धेरै छ । पछिल्लो एक सातामा प्रदेश १ मा मात्रै ५३ जना कोभिड संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

त्यसैगरी गण्डकी प्रदेशमा ३२, लुम्बिनीमा १५, कर्णालीमा ११, प्रदेश २ मा ३ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु भएको तथ्यांक छ । कोभिड–१९ बाट हालसम्म मृत्यु भएकामध्ये झण्डै एक तिहाइ काठमाडौं उपत्यकाका नागरिक छन् । काठमाडौंमा हालसम्म २ हजार ८८० जनाको मृत्यु भएको छ भने पछिल्लो सातामात्रै ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

मृत्युको पछिल्लो तथ्यांक

काठमाडौं र भारतसँग सीमा जोडिएका जिल्लामा धेरै मृत्यु

कोभिड–१९ को पहिलो र दोस्रो लहरमा काठमाडौं उपत्यकाका तीन जिल्लासँगै भारतसँग सीमानाका जोडिएका जिल्लाहरू धेरै प्रभावित भएका थिए । कोभिड–१९ को दोस्रो लहरको सुरुवातमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा संक्रमित बढेका थिए । गण्डकी प्रदेशमा बालबालिकामा धेरै संक्रमित भए भने निषेधाज्ञाको समयमा कर्णाली प्रदेशमा ५० प्रतिशतसम्म टेस्ट पोजेटिभिटी दर देखिएको थियो ।

हाल सक्रिय संक्रमितको संख्या पनि वाग्मतीपछि प्रदेश १ मा नै धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल वाग्मती प्रदेशमा ११ हजार १३६ जना सक्रिय संक्रमित रहेका छन् भने प्रदेश प्रदेश १ मा पाँच हजार ९० जना रहेका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या प्रदेश २ मा १ हजार ५४०, गण्डकीमा ३ हजार ६५८, लुम्बिनीमा २ हजार ५९८, कर्णालीमा १ हजार २५५ र सुदूरपश्चिम प्रदेशमा १ हजार २७९ रहेको छ ।

वाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ७ हजार ९५ रहेको मन्त्रालयको तथ्यांक छ । एक सातामा ५३ जनाको मृत्यु भएको प्रदेश १ मा झापा, मोरङ र सुनसरीमा मृत्यु हुनेको संख्या बढी रहेको प्रदेश १ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार एक सातामा ३२ जनाको मृत्यु भएको कास्कीमा गत असार २८ गतेदेखि साउन ४ गतेसम्म कास्की जिल्लामा मात्रै ५ मृत्यु भएको छ ।

त्यस्तै नवलपरासी पूर्वमा एक सातामा १० जनाको मृत्यु भएको छ भने स्याङजामा ४ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकले देखाउँछ । कोभिड–१९ को दोस्रो लहरको संक्रमणबाट धेरै प्रभावित भएको अर्को प्रदेश हो, लुम्बीनी । स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार असार ३१ सम्म रूपन्देही ४८६ जना, बाँकेमा ३०४ जना तथा दाङ २४६ जना कोभिड संक्रमितको मृत्यु भएको छ । यो तथ्यांकलाई हेर्दा काठमाडौं उपत्यकाबाहिर भारतसँग सीमा जोडिएका जिल्लाहरूमा कोभिड धेरै संक्रमितको मृत्यु भएको देखिन्छ ।

सरदर दैनिक २६ जनाको मृत्यु

नेपालमा अहिले कोभिड संक्रमणबाट मृत्यु हुने दर १.४३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)का अनुसार अहिले पनि दैनिक सरदर मृत्युदर २६ जना रहेको छ । पछिल्लो समय अस्पतालमा मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.अनुप बास्तोला बताउँछन् ।

काठमाडौं उपत्यकामा अपेक्षाअनुरूप अस्पताल भर्ना हुने कोभिड संक्रमितको संख्या नघटेको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेको अनुभव छ । त्यसमा पनि कोभिड–१९ का नयाँ म्युटेन्ट भेरियन्टहरू बढी संक्रामक भएकाले पनि मृत्यु हुनेको संख्या संक्रमितको तुलनामा नघटेको विज्ञहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ११:०३