सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

आधा दर्जन मन्त्रालयसहित सरकारमा जाने तयारीमा नेपाल पक्ष

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूह अध्यक्ष केपी शर्मा ओलीसँग ‘पर्ख र हेर’को रणनीतिमा देखिएको छ । विगतका गल्तीप्रति पश्चाताप गर्नुको साटो पेलेर जाने रणनीतिमा देखिएको भन्दै नेपाल पक्षले ओलीले केही दिनभित्रै आफूलाई नसच्याए सरकारमा सहभागी हुने तयारी गरेको एक नेताले जानकारी दिए ।

‘ओलीकै कारण पार्टी करिब दुइतिहाई बहुमतबाट अल्पमतसम्म पुगेको हो, ओलीले आत्मा आलोचनासहित पश्चाताप गरेर सबैप्रति आत्मीयता देखाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुपर्छ, अनि सर्वोच्चको फागुन २३ पछिका निर्णय फिर्ता गर्नुपर्छ,’ नेपाल पक्षका एक नेताले भने, ‘होइन भने विश्वासको मतको पक्षमा उभिएकाहरु देउवा सरकारमा सहभागी हुन्छौँ ।’

उनले प्रधानमन्त्री देउवाले पनि सकेसम्म पार्टी एकता कायम राख्न सुझाव दिँदै त्यसो नभए सरकारमा पनि स्वागत गर्ने बताएको जानकारी दिए । नेपाल पक्षकै एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले भने केही दिनभित्रै सरकारमा सहभागी हुने बताए । उनले अहिले एमाले पार्टी नै नरहेको ओली र नेपाल गुटमात्रै रहेकाले नेपाल समूहले निर्णय गरेर मतदान गरेको बताए ।

‘स्वतन्त्र सांसदलाई ह्वीप लाग्दैन । स्वतन्त्र सांसदको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । त्यही सरकारमा जाँदा हामीलाई चाहिँ कारबाही हुन्छ र ?,’ प्रश्न गर्दै चौधरीले भने, ‘पार्टी होइन, केपी ओलीले गुट चलाउनुभएको हो । उहाँको कमिटीलाई अदालतले अस्वीकार गरिसक्यो । हामी माधव समूहमा छौँ । उहाँले ओली गुट चलाउनुभएको छ । कारबाही हुँदैन ।’

ओलीबाटै गुटको सुरुवात भएकाले पार्टीमा समस्या देखिएको उनको भनाइ थियो । प्रधानमन्त्री निकट एक कांग्रेस नेताले पनि नेपाल पक्ष पार्टी एकता हुने नहुने अन्तिम अवस्थामा रहेको भन्दै एकता नभए सरकारमा सहभागी हुने तयारीमा रहेको बताए । उनले त्यस्तो अवस्थामा माधव नेपाललाई ६ मन्त्रालय दिने तयारी रहेको जानकारी दिए ।

‘पार्टी एकता भएन भने माधवजीहरु पनि सरकारमा सहभागी हुनुहुन्छ, उहाँहरुलाई सम्मानजनक सहभागिताका लागि तयारी नै छ,’ ती नेताले भने, ‘माधवजी सरकारमा सहभागी हुने अवस्थामा युवा प्रतिनिधित्वसहितको फ्रेस अनुहार मन्त्रिपरिषदमा पठाउने तयारी छ ।’ संसद् जोगाएपछि माधव नेपाल सकेसम्म पार्टी एकता पनि जोगाउने प्रयासमा रहेको भन्दै पार्टी एक भएको अवस्थामा भने सरकारमा सहभागिता नरहने उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १०:५१