सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

आ–आफ्नै रणनीतिमा ओली–नेपाल, एमाले एकता अन्योलमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेपनि समय सीमाभित्र कुनै कारवाही गरेको छैन । अहिले एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटेका छन् । सोमबार स्पष्टीकरण सोधिएको भए पनि अहिलेसम्म नेपाल समूहका कुनै पनि सांसदहरूलाई पत्र पुगेको छैन ।

नेपाल समूहका सांसदहरूले आफूहरूसँग पत्र नपुगेको बताउँछन् । संस्थापन पक्षले स्पष्टीकरण सोधे पनि त्यसको जवाफ नदिने बरु अदालतको आदेशविपरीत हुने भएकाले कानुनी लडाइँ लड्ने नेपाल पक्षका नेताहरूले बताउँदै आएका छन् । सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

उनीहरूले स्पष्टीकरणको जवाफ नदिए पनि कारबाही गर्ने विषयमा कुनै निर्णय भएको छैन । बैठकमा सकेसम्म पार्टी एकता कायम गरेर जानुपर्ने आवाज उठेको थियो । मंगलबार नै बसेको एमालेको नेपाल समूहका सांसदहरूको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले एकताबद्ध हुन नसक्ने निष्कर्ष निकालेको छ ।

संस्थापन पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई कारबाही गर्ने तयारी गरेपछि बसेको सांसदहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अहिलेको अवस्थामा ओलीलाई अध्यक्ष स्वीकार गरेर अगाडि बढ्ने परिस्थिति नभएको र एकताका लागि ओलीले पद छाड्नुपर्ने विषयमा सांसदहरूबीच छलफल भएको हो ।

नेपाल पक्षले पनि पार्टीभित्र रहँदा वा नयाँ दल खोल्दा केकस्तो हुन्छ भनेर छलफल गरिरहेको छ । सो समूहले तीन चरणमा अहिलेको अवस्थाबारे छलफल गर्ने जनाएको छ । यो समूहमा पनि पार्टी एकताका पक्षमा कुराकानी गर्न नेपाललाई सुझाव दिइएको छ । उता नेपाल समूहलाई सरकारमा सहभागी हुने दबाव परको छ ।

मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपाल पक्षले अझै पनि पार्टी एकताका लागि पहल गर्ने भन्दै तत्काल सरकारमा सहभागी नहुने जवाफ दिएको स्रोतले जनाएको छ । अहिले पनि दुवै समूहका दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०९:३५