सूचनाको शक्ति - The Power Of Information

        

मेडिकल कलेजका स्वास्थ्यकर्मीले अझै पाएनन् तलब भत्ता

बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले तलब भत्ता माग्दै विगत चार दिनदेखि आन्दोलन गरे पनि अझै पाएका छैनन् । कलेजद्वारा सञ्चालित नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले तीन महिनादेखि तलब नपाएको जनाउँदै नेपालगन्ज शिक्षण अस्पतालमा धर्ना र प्रदर्शन जारी राखेका छन् ।

शिक्षण अस्पताल र मेडिकल कलेजको प्रशासन, लेखा शाखा र प्रबन्धनिर्देशकको कार्यकक्षमा तालाबन्दी गरेर उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीले बिरामीलाई दिने सेवा प्रवाहमा भने कुनै पनि प्रभाव नपारेको बताएका छन् । कर्मचारी सङ्गठनकी उपाध्यक्ष सुमन गिरीले आफूहरूको आन्दोलनले बिरामीको उपचारमा कुनै पनि प्रभाव नपर्ने बताए ।

नेपालगन्ज शिक्षण अस्पतालकी नर्सिङ अधिकृतसमेत रहेकी उपाध्यक्ष गिरीले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताइन् । नेपालगन्ज र कोहलपुर शिक्षण अस्पताल तथा मेडिकल कलेज चिसापानीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले गत तीन महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मी मुस्लिम खानले बताए ।

अन्य स्वास्थ्यकर्मी र कर्मचारीले तीन महिनादेखि तलब नपाए पनि अस्पतालका डाक्टरले भने चार महिनाकै तलब नपाएको जनाएका छन् । तलबभत्ता माग्दै सुरु गरिएको आन्दोलनलाई अस्पताल प्रशासनले धम्क्याउन खोजेको आरोप कर्मचारी सङ्गठनकी उपाध्यक्ष गिरीले लगाए । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने उनले बताइन् ।

अस्पतालका नर्सिङ स्टाफ र कर्मचारीले कोभिड भत्ता र खाजा भत्ता पनि नपाएको उनीहरूको गुनासो छ । सामाजिक सुरक्षा कोषमा स्वास्थ्यकर्मी र कर्मचारीको तलबबाट ११ प्रतिशत रकम कट्टा गरिए पनि कम्पनीको तर्फबाट थप २० प्रतिशत थप गर्नुपर्नेमा १६ महिनादेखि कोषमा दाखिला नभएको पनि उपाध्यक्ष गिरीले बताइन् ।

यसैबीच, नेपालगन्ज शिक्षण अस्पतालका उपनिर्देशक श्याम शर्माले एक हप्ताभित्र केही महिनाको तलब भत्ता उपलब्ध गराउने बताएका छन् । स्वास्थ्यकर्मीले भने कर्मचारीले एकमुष्ट तलब भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १४:४४