सूचनाको शक्ति - The Power Of Information

        

घरेलु मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा खाएका चार जनाको मृत्यु भएको छ । दुई जना बिरामी छन् । गलकोट नगरपालिका–७ मल्ममा सोमबार राति घरेलु मदिरा खाएका १४ जना मजदुरमध्ये ६ जना बिरामी परेका थिए । उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा चार जनाको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पा सुनिल स्मृति गाउँपालिका– ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । १४ जनामध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको खवर आएको थियो ।

घटनाको बिषयमा थप अनुसन्धान हुने हवारीले बताए । अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ । दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०९:३२