सूचनाको शक्ति - The Power Of Information

        

बेलायतमा १६ महिनापछि ‘लकडाउन’ हट्यो

एजेन्सी । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि जारी लकडाउन अन्त्य गरिएको छ ।

कोरोना महामारी सुरु भएसँगै करिब १६ महिनापछि बेलायतवासी लकडाउन मुक्त भएका हुन् ।

तर, संक्रमणको त्रास भने झन् तीव्र बन्दै गएको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन अन्त्य भएको बताउँदै ‘फ्रिडम डे’ को रूपमा घोषणा गर्नुभएको छ ।

तर फ्रिडम डे कै दिन प्रधानमन्त्री जनसन भने सेल्फ आइसोलेसनमा बसेको बीबीसीले जनाएको छ ।संक्रमण दरमा तीव्रता आए पनि सरकारले बेलायतमा लकडाउन अन्त्य गरेको हो ।

अघिल्लो महिनामा नै पूर्ण रूपमा लकडाउन खुला गर्ने सरकारले घोषणा गरेको भएपनि डेल्टा भेरिएन्टको संक्रमण दर तीव्र रूपमा बढेपछि चार हप्ता पछि धकेलिएको थियो ।

सरकारले चरणबद्ध रूपमा लकडाउन खुकुलो पार्दै चौथो तथा अन्तिम चरणमा लकडाउनसम्बन्धी सम्पूर्ण प्रतिबन्धहरू हटाएको छ ।

अनिवार्य मास्क लगाउनुपर्ने, एक मिटर प्लस दूरी राख्नुपर्ने, रेस्टुरेन्टमा क्यू आर कोड साइन गर्नुपर्ने जस्ता नियम अन्त भएको छ । संक्रमण दर उच्च भएकाले सार्वजनिक यातायातमा भने मास्क लगाउनुपर्ने नियम यथावत् छन् ।

तर, लकडाउनमुक्त भए पनि बेलायतमा बढ्दो संक्रमणका कारण मानिसमा झन् त्रास बढेको छ । पछिल्ला केही दिनयता दैनिक ५० हजारको हाराहारीमा संक्रमण दर थपिएका छन् ।

खोपको प्रभावका कारण मृत्युदर र अस्पताल भर्ना हुनेको संख्यामा कमी आएको सरकारको दाबी छ ।

हाल बेलायतका जनसंख्याको ६८ दशमलव ३ प्रतिशत वयस्कहरूले खोपको दुवै डोज लगाइसकेका छन् भने ८७ दशमलव ९ प्रतिशतले पहिलो डोज लिएका छन् ।

बेलायतमा हालसम्म ५४ लाख ३३ हजार भन्दा बढी संक्रमण भएका छन् भने एक लाख २८ हजार ७०८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०७:५७