सूचनाको शक्ति - The Power Of Information

        

समाचार

कांग्रेसले दमन गर्छ भन्दै ओली सत्तासँग डराएपछि…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०४७ सालको राजनीतिक परिवर्तनपछि जस्तै सत्तारुढ नेपाली कांग्रेस दमनमा उत्रिन सक्ने दाबी गरेका छन् । ललितपुरको च्यासलमा सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा ओलीले कांग्रेस फेरि आफूहरुमाथि दमनमा उत्रिन सक्ने आशंका गरेका हुन् ।

२९४८ सालपछि बनेको कांग्रेस नेतृत्वको सरकारले एमाले नेता कार्यकर्तामाथि अनेक आरोप लगाएर दमन गरेको पनि अध्यक्ष ओलीले स्मरण गरेका छन् । ‘हिजो हामीमाथि लगाइएका आरोप सत्ताको बलमा फेरि थोपरिन सक्छन्,’ ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति भने ।

उनले २०४८ सालपछि कांग्रेसले देशभरी एमालेका ३० हजार नेता कार्यकर्तामाथि झूटा मुद्दा लगाएकाले अहिले पनि त्यही अवस्था आउन सक्ने बताए । २०४८ सालपछि भएको दमनजस्तै व्यवहार कांग्रेस नेतृत्वको सरकारले दोहोर्याएका सशक्त प्रतिवादमा उत्रिने ओलीले बताए । ‘यसपटक पनि हाम्रो बेइज्जती गर्ने, झूटा मुद्दा लगाउने काम भएमा सुरुदेखि नै यसको प्रतिवाद गर्नेछौँ,’ उनले भने, ‘हामी चाहन्छौँ फेरि त्यस्तो नहोस् ।’ उनले कांग्रेसले कतिसम्म दमन गर्न सक्छ भन्ने कुराको आफूलाई हेक्का रहेको पनि बताए ।

‘कांग्रेसले कतिसम्म दमन गर्छ भन्ने हामीलाई थाहा छ’, ओलीले बैठकमा सम्बोधनका क्रममा भने, ’त्यसैले हामी सबै नेता कार्यकर्ता जुझारु ढंगले जानुपर्छ, तयार हुनुपर्छ ।’ ओलीले बैठकलाई सम्बोधन गर्दै एमाले फेरि पनि ठूलो पार्टी भएर आउने दाबी पनि गरे । ‘अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि अझै हामी ठूलो पार्टी छौँ,’ ओलीले अगाडि भने, ‘जनतामा गएर हामी फेरि आउँछौँ । आजैदेखि तयारी थालौँ । अलिकति प्रतिकूलताले फरक पार्दैन ।’

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १९:०५