सूचनाको शक्ति - The Power Of Information

        

सवासी साधन बढेसँगै चैनपुरमा दुर्घटनाको जोखिम

बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा पछिल्लो समय सवारी साधनको चाप बढ्दै गएपछि पैदल यात्रुलाई समस्या हुन थालेको छ । सवारी साधनको चाप बढेसँगै सदरमुकाम जोड्ने मुख्य सडकहरु साँघुरा हुँदा जनताहरुले पटकपटक समस्या भोग्दै आएका छन् । सवारी साधनहरु सडकमा जथाभावी पार्किङ गर्ने गरेकाले जेष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुलाई पैदल हिँड्न समस्या भएको छ ।

सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकदेखि जिप काउन्टर, जिल्ला प्रशासन कार्यालयको गेटदेखि खुला मञ्चसम्मको सडकमा सवारी साधनहरु पार्किङ गरिन्छ भने घर बनाउनका लागि प्रयोग गरिने गिट्टी, बालुवा, इँट्टा लगायतका निर्माण सामाग्री सडक बीचमै राख्ने गरेको भए पनि सरोकारवाला निकाय मौन देखिएको छ । सदरमुकामभित्र ठूला सवारी साधन आएमा फर्काउने ठाउँसम्म पनि हुदैन ।

लकडाउन खुकुलो भएसँगै बजारमा मानिसहरुको चहलपलह उत्तिकै बढेको छ । सडकमा परेका खाल्डाखुल्डीले हिँड्डुल गर्न हम्मेहम्मे पर्ने गरेको छ । सवारी साधन आउँदा आफुहरु वारिपारी लाग्नुपर्ने अवस्था आउने गरेको र सडकमा हिँड्दा गाडी मोटरसाइकलले शरीरमै हिलो छ्याप्ने गरेको जयपुथ्वी नगरपालिका–१० का स्थानप्य पारस शाहीले बताए । शाहीका अनुसार सवारी साधनको चाप बढिरहेकाले दुर्घटना जोखिम पनि बढ्दै गएको छ ।

शाहीले भने, ‘बजारमा हिँड्दा ढल निकास नभएकाले बीच सडकमा आएको फोहोर पानीले शरीरभर छिटा पर्ने गर्छन् ।’ साँघुरा सडकलाई स्तरोन्नति गरी अहिलेको जनसंख्या र सवारी चापलाई मध्यनजर गर्नुको साटो जयपुथ्वी नगरपालिकाले त्यसै सडकलाई बर्षेनि टालटुल मात्रै गर्ने गरेको छ । एक त सानो अनि साँधुरो बाटो, झन् त्यसैमाथि ठूलाठूला सवारी साधान कुदिरहेका हुन्छन् । साँघुरो सडकमा पार्किङ्ग गरिएको छ ।

यस बिषयमा नगरपालिकाले पनि कुनै चासो नदिएको स्थानीयहरुले आरोप लगाउँदै तीन महिनादेखि बिग्रिएको लोकतान्त्रिक चोक अगाडीको सडक बनाउन नगरपालिकाले उदासिनता देखाइरहेकोमा स्थानीयहरु आक्रोशित बनेका छन् । लोकतान्त्रिक चोकमा पसल व्यवसाय गर्दै आएकी सिता खड्काले भनिन्, ‘दिनहुँ कुलोमा गाडी फस्ने गरेका छन् । तर, मर्मत सम्भारमा कसैले पनि चासो देखाएको छैन ।’

यो सडकमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरकारीदेखि गैरसरकारी कार्यालयका सवारी साधन यहि बाटो भएर यताउता दौडिरहे पनि यसको मर्मत सम्भारमा कसैले चासो नदेखाएको खड्काको भनाई छ । एक हप्ताअघि मात्रै नागरिकता बनाउन आएका एक जना वृद्वा उक्त चोक नजिकै सरियाले घोचेर हाँतमा चोट लागेपछि अस्पतालसम्म पुग्नुपरेको थियो ।

ती वृद्धाको घाउ हालसम्म पनि ठिक भएको छैन भने शनिबारमात्रै जिल्ला प्रहरी कार्यालयको गाडीको पाङ्ग्रा १५ मिनेटसम्म कुलोमा अड्किएको थियो । ‘अरु साना सवारी साधनहरु त कति अड्किन्छन कति । दिनहुँ आफु यताउता जाँदा अटोको पाङ्ग्रा कुलोमा फसेर अटो बिग्रने तथा कुलोबाट निकाल्न हम्मेहम्मे पर्ने अटोचालक विजय भण्डारीले बताए । उनले यात्रुहरुको बढी चाप हुने लोकतान्त्रिक चोकमा नजिकको सडक मर्मतमा चासो नदेखाउनु दुखद भएको बताए ।

यता जयपृथ्वी नगरपालिका उपमेयर जुना जाग्रीले भनिन्, ‘सिमेन्ट लगाएर ढल निकास गर्दा होटेल, पसलहरुबाट आएको फोहोर कुलामा फाल्ने भएकाले पाइप हालेर ढल निकास गर्नुपर्ने अवस्था आएको छ । अब केहि दिनमै पाइप हालेर ढल निकास गरेपछि उक्त बाटो सुधार गर्ने छौं ।’ ढल निकासको लागि सिँचाई कार्यालयले पाइप दिने बताए पनि हालसम्म प्राप्त नभएको र पाइप आएपछि नगरपालिकाले तत्काल सडक मर्मतको काम अघि बढाउने उनले बताइन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १७:२८