सूचनाको शक्ति - The Power Of Information

        

सल्यानका एक दर्जन बस्ती बाढीपहिरोको जोखिममा

फाइल तस्वीर

सल्यान । सल्यान जिल्लाका दर्जनभन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्लाका तीन नगरपालिका र सात गाउँपालिकाका एक दर्जनभन्दा बढी मानव बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

जिल्ला विपत् व्यवस्थापन समिति सल्यानले निर्माण गरेको जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार जिल्लाका तल्लो भागका बस्तीहरू बाढीको उच्च जोखिममा रहेको पाइएको छ ।

कालीमाटी गाउँपालिकाको काप्रेचौर, कालीमाटी काल्चे, कालीमाटी रामपुर क्षेत्र बाढीको उच्च जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले जिल्लाको माथिल्लो क्षेत्रमा भने पहिरोको जोखिम रहेको बताइन् । भौगोलिक अवस्था तथा भिरालो जमिनका कारण माथिल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ ।

उनका अनुसार कपुरकोट गाउँपालिकाको धनवाङ र सिनवाङ क्षेत्र, छत्रेश्वरी गाउँपालिकाको कोर्वाङ झिम्पे क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला क्षेत्र, कुमाख गाउँपालिकाको मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ क्षेत्र तथा वनगाड कुपिण्डे नगरपालिकाको निगालचुँला, घाँजरीपिपल लगाएतका क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् ।

बर्षात भइरहेको र बाढीपहिरोको जोखिमको समय नजिकिँंदै गएकाले विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमागाईले प्रतिकार्य योजना कार्यान्वयनमा स्थानीय तह सक्रिय बन्नुपर्ने बताइन् । जिल्लामा रहेका बाढीपहिरोको उच्च जोखिममा परेका बस्ती अन्य ठाँउमा स्थानान्तरण गरिनुपर्ने आवाजसमेत उठ्ने गरेको छ ।

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले दार्मा गाउँपालिका–१, साहुगाउँको बस्ती पहिरोको उच्च जोखिममा भएकाले स्थानान्तरणका लागि ठाउँको खोजी भइरहेको बताए । गाउँगाउँमा डोजरले सडक खन्दा पनि पहिरोको जोखिम बढेको छ । रेडक्रस सल्यानका पूर्व सभापति यौवनप्रकाश श्रेष्ठले जथाभाबी निर्माण गरिएका सडक पूर्वाधारले बस्ती जोखिममा परेको बताए ।a

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ०९:५८