सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री देउवा

काठमाडौं । प्रतिनिधि सभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका छन् । विश्वासको मत दिएका दललाई समेटेर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक नेताले लोकान्तरलाई जानकारी दिए ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्री नियुक्त गरेर आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । गृह मन्त्रालयमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, उर्जा मन्त्रालयमा पम्फा भुसाल र कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्रालयमा ज्ञानेन्द्र कार्कीलाई शुरूकै दिन शपथ गराइएको थियो ।

विश्वासको मत लिएपछि विस्तार गर्ने भन्दै शुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाइएको थियो । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष, माओवादी र पार्टीका केही सदस्य थपेर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका र विश्वासको मत दिएका एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुन राजी भएमा उनीहरुलाई समेत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको योजना छ ।

आइतवार राति संसदबाट बाहिरिने क्रममा सरकारमा सहभागिताको विषयमा सोधिएको प्रश्नमा नेता नेपालले प्रतिक्रिया दिएनन् । सरकारलाई विश्वासको मत दिए पनि जसपाको महन्थ ठाकुर पक्ष भने सरकारमा सहभागी नहुने बताएको छ । पाँच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन दिएपनि सरकारमा सहभागी नहुने निर्णय गरेको छ । उपेन्द्र यादव पक्षले पनि निर्वाचन आयोगमा रहेको पार्टी विवाद निरुपण भएपछि सरकारमा सहभागी हुने बताएको छ ।

माओवादी, जसपालगायत दललाई सरकारमा सहभागी गराउनुपर्ने भएकोले मन्त्री बन्ने आकांक्षी धेरै भएपनि कांग्रेसले थोरै मात्र मन्त्रालय राखेर गठबन्धनलाई रिझाउने तयारी गरेको छ । आइतवार प्रतिनिधि सभामा देउवाले १६५ सांसदको समर्थनसहित विश्वासको मत जितेका थिए । प्रतिनिधि सभामा विश्वासको मत जितेसँगै प्रतिनिधि सभाले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्ने आधार पाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ०९:२३