काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा सांसद रेशम चौधरीलाई जेलबाट रिहा गर्ने कुरामा कानुनले दिएसम्म गर्ने बताएका छन् । प्रतिनिधि सभामा विश्वासको मत लिने प्रक्रियामा जसपाका नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै देउवाले राजनीतिक व्यक्तिलाई जेलमा राखेर समाधान नहुने तर अदालतले नमान्ने भएका कारण समस्या हुने उनले बताए ।
उनले अदालतमा हस्तक्षेप गर्न मिल्दैन भन्ने मान्यता कांग्रेसको रहेको भन्दै उनले राजनीतिक व्यक्ति जेलमा बस्न नहुने मान्यता राख्ने बताए । ‘रेशम चौधरीलाई म चिन्छु । उहाँलाई छुटाउन चाहँदैमा हुँदैन’, देउवाले भने । राजवन्दीलाई छुटाउने सबैको चाहना हुने भन्दै उनले जेलमा कसैलाई पनि राख्ने रहर नभएको बताए । सकिने काम गर्न तयार रहेको भन्दै उनले संविधान अनुसार मिल्ने काम गर्ने बताए ।
मधेशी, थारु लगायत सबैको संविधान भएकाले सबैलाई समेटेर लैजाने प्रयास गर्ने उनले बताए । ‘म डडेल्धुराको मानिस हुँ । लिम्पीयाधुराका बारेमा मैले तपाईभन्दा धेरै जानेको छु ’ उनले भने । अहिले कोरोना महामारी भएकाले यसमा सरकार केन्द्रित रहने देउवाको प्रतिवद्धता छ । ‘सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो’ उनले भने ‘विकास आवश्यक छ तर जिन्दगी बचाउनू झन महत्त्वपूर्ण छ ।’
।