सूचनाको शक्ति - The Power Of Information

        

देउवाले भने, विचरा ! राष्ट्रपतिले सुत्न पाउनुभएन, मध्यरातमा किन संसद विघटन गरेको ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने प्रतिबद्धता जनाउने दलप्रति धन्यवाद दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मलाई विश्वासको मत दिने प्रतिबद्धता दिने पार्टी र साथीहरुप्रति धन्यवाद दिन्छु ।’

देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे । उनले भने, ‘प्रधानमन्त्रीले सदनमा बोल्दा प्रतिपक्षी दलको नेताले सुन्नुपर्छ । उहाँले बोल्दा म सँधै आउँथे । तर उहाँ आउनुभएन । उहाँको स्वास्थ्य अवस्था पनि ठीक नभएको होकि ?’ प्रधानमन्त्री देउवाले सदनमा नबोलेको प्रति पनि गुनासो गरे ।

‘उहाँ राम्रो बोल्नुहुन्थ्यो । तर आज बोल्नुभएन । माननीयज्यू (प्रदीप ज्ञवाली)ले बोल्नुभयो,’ देउवाले भने । संसद विघटन गर्ने नाममा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको बताए । उनले भने, ‘दुई बजे संसद विघटन गर्ने ? राष्ट्रपति विचरा सुत्न पाउनुभएन । उहाँले बाध्य पारिदिनुभयो ।’ देउवाले मध्यरात (राति २ बजे) किन संसद विघटन गरेको भन्दै प्रश्न गरे ।

आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका देउवाले प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मध्यरातमा संसद विघटन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख पाएको टिप्पणी गरे । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई आफू अनुकूल काम गर्न दबाब दिएको पनि बताए ।

राष्ट्रपतिले धारा ७६ (५) अनुसारको सरकार गठनको आह्वान गर्दा आफूसँग बहुमत नभएको भनेको ३ घण्टापछि ओली प्रधानमन्त्रीमा दाबीदारे पेस गर्न गएको टिप्पणी गरे । ‘३ घण्टा अगाडि आफूसँग बहुमत छैन भन्ने फेरि राति २ बजे संसद विघटन किन गरेको हो ?’ देउवाले भने, ‘राष्ट्रपति विचरा सुत्न पनि पाउनुभएन। राष्ट्रपतिलाई बाध्य पार्नुभयो । भोलि वा पर्सी गरेको भए हुन्थ्यो नि ! यस्तो कुरा राम्रो मानिदैन ।’

प्रधानमन्त्री देउवाले विश्वासको मत माग्ने क्रममा उठेका धेरै कुरालाई सुझावको रुपमा लिएको बताए । ‘धेरै कुरालाई सुझावको रुपमा लिएको छु । आक्रमणलाई धन्यवाद दिन्छु । विपक्षीलाई सम्मान गर्ने पार्टी हो,’ उनले भने ‘ओलीजी पूर्वप्रधानमन्त्री स्वास्थ्यका कारण नआएको हुनुपर्छ । प्रधानमन्त्रीले बोल्दा प्रतिपक्ष आउनुपर्छ । मनमोहन अधिकार बोल्दा म आउँथे । म बोल्दा पनि उहाँ आउनुहुन्थ्यो ।’

सदनमा विपक्षीले आक्रमण गर्ने र सत्ता पक्षले जवाफ दिने परम्परा रहेको देउवाले उल्लेख गरे । ‘सर्वोच्च अदालतको फैसलाको कुरा संविधान घोषणा गर्ने तपाईंकै पार्टीको नेता हो वहाँले बोल्नुहोला भन्ने लागेको थियो तर वहाँलाई गारो भएर होला,’ एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणीप्रति संकेत गर्दै देउवाले भने, ‘प्रधानमन्त्रीले जहिल्यै प्रतिनिधि सभा भङ्ग गर्ने भएकाले धारा ७६ को (५) मा पुगेपछि मात्र भङ्ग गर्ने व्यवस्था राखिएको हो । त्यसमा उहाँले बोल्नुहोला भन्ने लागेको थियो बोल्नुभएन ।’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार २१:२४