सूचनाको शक्ति - The Power Of Information

        

विश्वासको मत दिन्छौं, प्रतिपक्षमा बस्छौं : जनमोर्चा सांसद पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले देउवालाई विश्वासको मत दिएपछि पार्टी सरकारमा भने सहभागी नहुने बताइन् ।

दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभा बैठक सम्बोधन गर्दै जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रतिनिधि सभामा विश्वासको मत दिने बताएकी हुन् । ‘विश्वासको मतको पक्षमा राष्ट्रिय जनमोर्चाले मतदान गर्छ । र प्रतिपक्षमा बसेर सहयोग गर्छ,’ सांसद पौडेलले भनिन्, ‘सरकारको राम्रो कामको समर्थन र गलत कामको विरोध गर्दै हामी अगाडि जानेछौं ।’

उनले जनमोर्चाले प्रतिपक्षमा बसेरै देउवालाई रचनात्मक सहयोग गर्ने बताइन् । उनले गठबन्धनको आवश्यकता अझै पनि रहेको भन्दै थप योजनासहित अघि बढ्नुपर्नेमा पनि जोड दिइन् । उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि जनमोर्चा प्रतिपक्षमा बस्ने पनि बताइन् । सांसद पौडेलले सरकारले राम्रो काम गरे समर्थन गर्ने र नराम्रो काम गरे विरोध गर्ने स्पष्ट पारिन् ।

उनले प्रतिगमनलाई परास्त गरिए पनि प्रतिगमन पूर्ण रुपमा परास्त भने भइनसकेको प्रति सचेत गराइन् । ‘प्रतिगमनको एउटा कदमलाई हामीले परास्त गर्न सकेको पक्कै हो । तर प्रतिगमन पूर्णरुपले सिद्धिसकेको अवस्था होइन । यसले हरेक कोणबाट फेरि पनि ढुकेर बसेको अवस्था छ र त्यसरी अगाडि बढ्ने खतरा अझै पनि देखा परिरहेको छ,’ पौडेलले भनिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार २१:०२