सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

जसपाको ‘ट्विस्ट’पछि प्रधानमन्त्री देउवालाई माधव पक्ष बिनै विश्वासको बहुमत

काठमाडौं । जसपाको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवलाई विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका सांसद्को सहयोग बिना पनि विश्वासको मत पाउने भएका छन् । आइतबार देउवा र जसपाको महन्थ ठाकुर पक्षबीच छलफल भएको थियो ।

छलफलपछि देउवालाई मत दिने निष्कर्षमा पुगिएको सो पक्षका सांसद्हरुले प्रतिक्रिया दिएका छन् । जसपाको उपेन्द्र यादव पक्ष भने यसअघि नै देउवाको पक्षमा उभिँदै आएको थियो । सो पक्षले जेठ ७ गते नै देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो । साथै, सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर पनि गरेको थियो ।

प्रतिनिधि सभामा जसपाका ३४ सांसद् भए पनि २ जना निलम्बित भएकाले ३२ जनाले मत दिन पाउँछन् । पछिल्लो ‘ट्विस्ट’सँगै देउवाको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् गरी १४३ मत पुग्ने देखिएको छ । त्यसमा एमालेको माधव नेपाल पक्षको मत पनि थपिनेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १८:४६