सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

जसपामा ट्वीस्ट : महन्थ पक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको बताए ।

‘प्रधानमन्त्रीजीले अध्यक्ष महन्थ ठाकुर पक्षलाई पत्र लेख्दै विश्वासको मत माग्नु भएको थियो,’ उनले भने, ‘अध्यक्ष ठाकुरलाई सम्बोधन गरेर नै पत्र लेख्नुभएपछि पार्टीका नेताहरु त्यस विषयमा छलफलमा जुट्नुभएको थियो ।’ छलफलमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको उनले बताए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई पत्र पठाएर विश्वासको मत मागेका थिए । देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम रहेको जनाउँदै उक्त प्रस्तावमा मत दिन ठाकुर र उनका पक्षका सांसदहरुलाई अनुरोधसमेत गरेका थिए ।

‘२०७८ असार ३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु’ देउवाले लेखेको पत्रमा उल्लेख छ । प्रतिनिधिसभाको आइतबार बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले केहीबरेमा विश्वासको मत लिँदैछन् ।

जसपा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले भने यसअघि नै देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने निर्णय गरिसकेको छ । ३२ सांसद रहेको जसपाको यादव–भट्टराई पक्षमा १९ र ठाकुर पक्षमा १३ जना सांसद रहेका छन् । ठाकुर पक्षको निर्णयअनुसार जसपाका सबै ३२ जना सांसदले विश्वासको पक्षमा मतदान गर्नेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १७:५८