सूचनाको शक्ति - The Power Of Information

        

भीम रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनाको घोषणा

काठमाडौं । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद डा.भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा घोषणा गरेका छन् । दिउँसो सिंहदरबारमा भएको नेपालनिकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए । सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु,’ उनले पत्रकारहरुमाझ भने । उनलाई भेलामा उपस्थित सांसदहरुले भने राजीनामा नदिन आग्रह गरेका थिए । रावलले संसद् सचिवालयमा राजीनामा बुझाइसकेका भने छैनन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १६:१८