सूचनाको शक्ति - The Power Of Information

        

मोइज हत्याकाण्ड : अमेरिकाबाट बुलेट प्रुफ कपडा लगाएर फर्किइन् हाइटीकी फर्स्ट लेडी

हाइटीका फर्स्ट लेडी मार्टिन मोइज

काठमाडौं । हाइटीका फर्स्ट लेडी मार्टिन मोइज अमेरिकामा उपचार गराएर स्वदेश फर्किएकी छिन् । गत जुलाई ७ मा श्रीमान राष्ट्रपति जोभेनल मोइजको गोली हानी हत्या हुँदा भाडाका लडाकुले उनीमाथि पनि गोली चलाएका थिए ।

गम्भीर घाइते भएकी उनलाई तत्काल अमेरिकाको फ्लोरिडा लगिएको थियो । आइतबार स्वदेश फर्किएकी फर्स्ट लेडी विमानबाट तल झर्दा बुलेट प्रुफ कपडामा देखिएकी थिइन् । उनलाई विशेष सुरक्षाबीच स्वदेश फर्काइएको हो । फर्स्ट लेडीलाई लिन अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफ विमानस्थल पुगेका थिए ।

मोइज दम्पत्ति

आगामी हप्ता राष्ट्रपति मोइजको अन्त्येष्टी गरिने भएको छ । त्यसको एकहप्ता अगाडि नै मार्टिन हाइटी फर्किएकी हुन् । अस्पतालमा होस खुल्दा मार्टिनले बन्दुकधारीले आफ्ना श्रीमानलाई एक शब्द बोल्न नदिई गोली हानेको प्रतिक्रिया दिएकी थिइन् ।

हालसम्म राष्ट्रपति हत्या आरोपमा २० जना गिरफ्तार भइसकेका छन् । संदिग्द ३ अपराधी भने प्रहरीसँगको मुठभेडमा मारिएका थिए । हत्यामा संलग्न हुनेमा धेरैजसो भाडाका पूर्व कोलम्बियाली सेनाहरु थिए । हाइटी प्रहरीले हत्याको मुख्य योजनाकार भन्दै हाइटीकै डाक्टर क्रिस्टियन इम्यानुअल सानोनलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १५:४४