सूचनाको शक्ति - The Power Of Information

        

जसपामा किचलो

महन्थलाई छाडेर सात सांसद उपेन्द्रतिर

काठमाडौं । जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरेसँगै सात जना सांसदले अर्का अध्यक्ष महन्थ ठाकुरको साथ छाडेका छन् । शनिबार बालकुमारीमा बसेको उपेन्द्र पक्षको संसदीय दल बैठकमा ठाकुर पक्षका चार सांसद उपस्थित भएका थिए ।

यस्तै आजै अध्यक्ष यादवसँगको वार्तापछि यसअघि केपी ओली नेतृत्वको सरकारमा केही साता मन्त्री बनेका राजकिशोर यादव, रेनुका गुरुङ र चन्द्रकान्त चौधरीले पनि ठाकुर समूह छाडेका हुन् । राजकिशोर ओली सरकारमा मन्त्री थिए भने रेनुका राज्य मन्त्री भएकी थिइन् । आइतवार पनि बसिरहेको यादव पक्षको संसदीय दलको बैठकमा ठाकुर पक्षका सात सांसद उपस्थित भएपछि बहुमत पनि जुटेको छ ।

जसपा संसदीय दलमा १७ जना भए बहुमत पुग्छ । यस्तोमा यादवको पक्षमा कम्तीमा १९ जना सांसद उपस्थित भएपछि अब कार्यकारिणी समिति र दल दुवैमा बहुमतसहित बलियो भएका छन् । देउवालाई विश्वासको मत जुटाउने रस्साकस्सी चलिरहेका बेला जसपा पनि निर्णायक शक्ति बनिसकेको छ । यसअघि देउवाले बनाएको सानो मन्त्रिपरिषद्मा जसपाको यादव पक्ष सहभागी भएको थिएन ।

तर केही दिनअघि मात्रै सत्तामा जाने निर्णय गरेर जसपाले दलको बैठक बोलाएको थियो । यसअघि देउवाको पक्षमा यादव समूहका १२ सांसदले हस्ताक्षर गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) कार्यालय बालकुमारीमा आज पनि बसिरहेको बैठकमा २० जना उपस्थित रहेको दाबी सांसद मोहम्मद इस्तियाक राईले गरेका छन् । तर उक्त बैठकमा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेता उपस्थित छैनन् ।

शनिबार बसेको संसदीय दलको बैठकमा यसअघि ठाकुर समूहतर्फ लागेका सांसदहरु रुही नाज, अमृता अग्रहरि, प्रमोद साह र रानी मण्डल सहभागी भएका थिए । देउवाले विश्वासको मत लिँदै गर्दा जनता समाजवादी पनि कानुनीरुपमा विभाजित हुँदैछ । जसपा विवादलाई लिएर निर्वाचन आयोगले इजलास नै बनाएर सुनुवाइ गरिरहेको छ। निर्वाचन आयोगमा सुनुवाइ चलिरहेका बेला यादवले कार्यकारिणी समिति र दल दुवैमा बहुमत जुटाउन लागेका हुन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा जाने क्रममा ठाकुर समूहले २० जना सांसद आफ्नो पक्षमा तानेको थियो । तर सर्वोच्चको आदेशबाट ठाकुर समूह ओली सरकारबाट बाहिरिएसँगै यादव पक्षले सांसदहरुलाई तानेको हो । पछिल्लो पटक देउवा सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेपछि यादव पक्षले सरकारमा जाने निर्णय लिइसकेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १५:३७