सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

माधव पक्षले भन्यो, ‘देउवालाई एमालेका ४० सांसदको मत’

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीका कम्तीमा ४० देखि ४५ सांसदले विश्वासको मत दिने दाबी गरेको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि आन्तरिक छलफलमा जुटेको वरिष्ठ नेता नेपाल पक्षले ओली पक्षका पनि कम्तीमा २० जना सांसदले देउवालाई विश्वासको मत दिने दाबी गरेको हो ।

देउवालाई विश्वासको मत दिने पक्षमा उभिएको नेपाल पक्षका सांसदहरुको बैठक आइतवार दिउँसो च्यासलमा बसेको थियो । उक्त बैठकले यसअघि राष्ट्रपतिको कार्यालय र सर्वोच्चमा पुगेका २३ सांसदले राजनीतिक इमानमा दायाँबायाँ नगरी देउवालाई विश्वासको मत दिने निर्णय लिएको छ । माधव पक्षीय एमाले सांसद मेटमणी चौधरीले आजको बैठकबाट पनि राष्ट्रपतिको कार्यालय र सर्वोच्च अदालतमा जस्तै संसदमा पनि देउवाको पक्षमा उभिने निर्णय लिएको बताएका छन् ।

सांसद चौधरीले देउवाको पक्षमा हस्ताक्षर गर्नेसहित ३५ जनासम्म एमाले सांसदहरुले विश्वासको मत दिने दाबी गरेका छन् । ‘हामीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने कुरा भइसकेको छ । हामीसँगै अध्यक्ष केपी शर्मा ओली पक्षका १०/१५ सांसदहरु पनि हाम्रै निर्णयलाई समर्थन जनाउँदै विश्वासको मतको पक्षमा उभिने सम्भावना छ,’ कुरा गर्दै चौधरीले भने । बैठकमा सहभागी अर्की सांसदले आज देउवाको पक्षमा कम्तीमा ४५ देखि ४५ एमाले सांसद उभिने दाबी गरेकी छन् ।

उनले संसदलाई पूरा आयु बचाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि देउवालाई विश्वासको मत दिने निर्णय आफ्नो समूहले गरिसकेको बताएकी छन् । एमाले मिलाउने वार्ता तीव्र हुन थालेपछि देउवाले हतार हतार विश्वासको मत लिन लागेका हुन् । ओली–नेपाल विवाद जुनसुकै समय मिल्न सक्ने अवस्थामा आफू जोखिममा पर्ने आँकलनसहित देउवाले अचानक विश्वासको मत लिन लागेका हुन् । यस्तोमा एमालेले देउवालाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेको छ भने नेपाल पक्षले देउवाको सरकार जोगाएर संसदलाई पूरा अवधि चल्न दिने निर्णय लिइसकेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १४:५७