काठमाडौं । संर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेका देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले साउन २९ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो ।
प्रधानमन्त्री देउवाले भने समय धेरै नकुरेर एक हप्तामै विश्वासको मतको प्रस्ताव संसदमा दर्ता गराएका छन् । संसदमा दोस्रो ठूलो नेपाली काँग्रेसका सभापति देउवाले संसदमा विश्वासको मत पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न छ । र यसको उत्तर नेकपा एमालेको माधव समूहले के गर्छ ? भन्ने प्रश्नको उत्तरमा भेटिन्छ ।
माधव समूहले देउवाको पक्षमा मतदान गरे देउवा सरकारले निरन्तरता पाउँछ र संसद पनि जोगिन्छ । यदि माधव समूहले समर्थन गरेन भने देउवा सरकार पनि रहँदैन, संसद पनि रहँदैन । तर, चुनाव भने देउवा सरकारले नै गराउँछ । यस्तो पेचिलो प्रश्नका बीच संसदमा कुन दलको अवस्था के छ भन्ने विषय महत्वपूर्ण हुन्छ ।
संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले हो । उसको १२१ सिट छ । यस्तै दोस्रो ठूलो दल काँग्रेसको ६३ सिट छ । तर, उसका दुई सांसदले मतदान गर्न पाउँदैनन् । यस्तै तेस्रो ठूलो दल माओवादी केन्द्रको ५० सदस्य छन् । तर अग्नि सापकोटा सभामुख भएकाले उनले मतदान गर्न पाउँदैनन् ।
यस्तै दुई समूहमा विभाजित रहेको जनता समाजवादी पार्टीको ३४ सिट भए पनि उसका ३२ सांसदलेमात्र मतदान गर्न पाउँछन् । यस्तै राप्रपा १ र राजमोका १ सांसद छन् । र स्वतन्त्र एकजना छन् जसले माओवादी केन्द्रलाई समर्थन् गर्छन् । संसदको यो गणितमा अहिले सरकारमा दुई दल सहभागी छन् भने एक सिट भएको राजमो र जसपा तथा एमालेको एक एक समूहले समर्थन जनाइरहेको छ ।
सरकारमा रहेका काँग्रेस र माओवादीका गरेर मतदान गर्न पाउने सांसदको संख्या १०९ हो । यस्तै एक स्वतन्त्र र राजमोले पनि समर्थन गरेकाले अहिले सत्ता गठबन्धनसँग स्पष्ट १११ सिट देखिएको छ । २०७५ सदस्यीय प्रतिनिधिसभा अहिले २७१ सदस्यीय कामय छ । ४ सिट रिक्त रहेको छ ।
त्यसैले प्रधानमन्त्री देउवाले विश्वासको मत मागेको प्रस्ताव पारित हुन कम्तिमा १३६ सिट आवश्यक पर्छ । सत्ता गठबन्धनसँग स्पष्ट १११ सिटमात्र देखिएकाले उसले कम्तिमा थप २५ सिटको समर्थन हासिल गर्नुपर्छ । गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सरकार बनाउने दावी गर्दा देउवाको समर्थनमा १४९ सांसदले हस्ताक्षर गरेका थिए ।
त्यतिबेला सत्ता गठबन्धनका १११, एमालेका माधव पक्षीय २६, जसपाका १२ जनाले हस्ताक्षर गरेका थिए । तर, सर्वोच्चमा रिट दायर गर्दा यो संख्या घट्यो । एमालेका ३ जनाले रिटमा हस्ताक्षर गरेनन्, मात्र १४६ जनाको हस्ताक्षरमा रिट दायर भयो । अब देउवाले विश्वासको मत लिँदा एमालेको माधव पक्षीयले के गर्छन् भन्ने विषय सबैभन्दा महत्वपूर्ण बनेको छ ।
एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलमा रहेका माधव पक्षीय ४ जना सांसदले विश्वासको मत दिने सम्भावना न्युन छ । तर, अन्य सांसदहरुले भने विश्वासको मत दिने बताइसकेका छन् । त्यसैले माधव समूहबाट देउवाले १९ मत पाउने अपेक्षा गरिएको छ । माधव पक्षका १९ जनाले समर्थन गरेपछि समर्थक सांसदको संख्या १३० पुग्छ । अझै यो सरकारलाई थप ७ सिट आवश्यक पर्छ ।
यसमा जसपाको उपेन्द्र समूहले सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेकाले देउवा सरकारले सजिलै समर्थन पाउने देखिन्छ । जसपा उपेन्द्र समूहको शनिबार बसेको संसदीय दलको बैठकमा १७ जना सांसदहरु सहभागी रहेको गरिएको छ । यसअनुसार देउवाले विश्वासको मतको पक्षमा १४७ सिट पाउन सक्ने सम्भावना देखिएको छ । तर, माधव समूहले के गर्छ भन्ने विषय अन्तिमसम्म सस्पेन्समा रहने देखिएकाले आइतबार प्रतिनिधिसभाको दृष्य रोचक हुने देखिन्छ ।
।