सूचनाको शक्ति - The Power Of Information

        

सरकारी अड्डामा बेतिथि

जिल्ला प्रशासन कार्यालयका कर्मचारीको मनपरी, सेवाग्राही मर्कामा

बाँके । जिल्लाका हरेक सरकारी कार्यालयको अनुगमन तगा निगरानी गर्ने अड्डाका रूपमा पनि जिल्ला प्रशासनलाई हेरिँदै आएको छ । नागरिकलाई सहज नागरिकता दिनेदेखि राहदानी लगायतका सेवा प्रवाहसँगै सरकारी कार्यालयको निगरानी निरिक्षण पनि जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी हो ।

समयमै कर्मचारी कार्यालयमा नआउँदा अन्य कार्यालयका कर्मचारीमाथि कानूनी कारवाही अघि बढाउने समेतको अधिकार प्राप्त जिल्ला प्रशासन आफैं उक्त कानून र नियमको उल्लघनमा रहेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । शनिबार बाहेक हरेक दिन सरकारी कार्यालय १० बजे खुलिसकेका हुन्छन् । कर्मचारी १० देखि १० बजेर १५ मिनेटसम्म कार्यालयमा उपस्थित भैसक्नुपर्ने सरकारी प्रावधान नै छ ।

तर, आइतबार विहानको ११ बज्दासमेत जिल्ला प्रशासन कार्यालयमा अधिकांश कर्मचारीको उपस्थिति हुन सकेको थिएन । सेवा ग्राहीहरू विहानै १० बजे सेवा सुविधाका लागि लाइनमा लामबद्ध देखिएका थिए । प्रशासन कार्यालयको महत्वपूर्ण मानिने प्रतिलिपी फाँटमा समेत कर्मचारीका कुर्ची खाली थिए । कार्यालयका उच्च अधिकारी समेत आफ्नो कोठामा देखिएका थिएनन् । कोही हाजिर गरेर पानी परेको वहानामा बाहिरिइएका थिए ।

कोही त्यतिबेला पनि कार्यालयमा आएका नै थिएनन् । यसको निगरानी कसले गर्ने ? सेवाका लागि प्रशासन कार्यालय पुगेको सेवाग्राही नमराज पौडेल लगायतका आम नागरिकले यतिबेला प्रश्न गरिरहेका छन् । उनले भने, ‘विहानको ११ बजिसकेको छ, बाँके सिडिओ अफिसमा कर्मचारीको नाम निसान छैन । नागरिकता प्रतिलिपी शाखादेखि यहाँ रहेका अधिकांश शाखामा कर्मचारी देखिदैनन् ।’

प्रशासन कार्यालयमा रहेका एक कर्मचारीलाई अन्य कर्मचारी खोई त ? भनेर सोध्दा उनले धेरै नआएको र नागरिकता प्रतिलिपी फाँटका कर्मचारी बर्दियाबाट आउँदै गरेको बताएका थिए । यस बिषयमा बुझन सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका सूचना अधिकारी दिर्घराज उपाध्यायसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । सिडिओ अफिसको लेनलाइन फोन उठेन । (ईसेतोखरी)

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १२:३४