सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

देउवालाई विश्वासको मत दिन नेपाल समूह आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गर्दैगर्दा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने या नदिने भन्नेबारे यतिखेर नेता नेपाल निवास कोटेश्वरमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत संसद् सचिवालयमा दर्ता गराइसकेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका माधव समूह सरकारको निरन्तरतामा पनि निर्णायक भूमिकामा छ । देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ सांसद् हस्ताक्षर गरेका थिए ।

अधिकांश सांसदले देउवालाई विश्वासको मत दिने बताउँदै आइरहेका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि संसदमा प्रतिनिधित्व गरिरहेका दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १२:२२